दार्जीलिङ: ५ डेसिमल पट्टा वितरणको विरोधमा गोर्खा अनि आदिवासीहरु एकसाथ खडा हुनपर्ने ईण्डियन गोर्खा जनशक्ति फ्रन्टले आह्वान गरेको छ। यसको साथै जबरजस्तीमा वितरण गरिने उक्त पट्टाले भविष्यमा समस्या हुनसक्ने प्रवक्ता जितेन राईले आशंका प्रकट गरेका छन्। अर्कोतिर चियाबारी क्षेत्रमा वितरण गरिने भनिएको ५ डेसिमल पट्टालाई केन्द्र गरेर भागोजशमो संयोजक अजय एडवार्डसद्वारा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरिएको राईले थप जनाए। यसबारे बोल्दै नव गठित दलको केन्द्रीय तदर्थ कमिटी प्रवक्ता जितेन राई अनि सदस्य प्रकाश गुरुङले बाजे बराजुको रगत पसिना भिझेका सबै जमीनको पट्टा वितरण गरिनपर्ने माग गरे भने राम्रो कुरा दिन जबरजस्तीको साटो जनसुनवाइ गरेर कार्वाही अघि बडाउनपर्ने उनीहरुले अपील गरे।










