खरसाङ: युनाइटेड दार्जिलिङ एफसी तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेश गरेको छ। युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट अन्तर्गत आज सम्पन्न दोस्रो सेमी फाइनल खेल युनाइटेड दार्जिलिङ एफसी र युकेएफसीमाझ सम्पन्न भएको छ। खेल शुरु भएको ८औं मिनटमा नै युनाईटेड दार्जिलिङको जर्सी नम्बर ९ प्रणय राईले गोल गरेर बढत बनाएका थिए। त्यसको लगत्तै युकेएफसीको जर्सी नम्बर ११ छोगेल तामाङले २०औं मिनटमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए। यसको केही मिनटपछि युकेएफसीको जर्सी नम्बर ७ बीरेन प्रधानले गोल २-१ को बढत बनाएका थिए। पहिलो हाफको खेल २-१ को साथमा समाप्त भएको थियो जसमा युकेएफसीले बढत बनाएका थिए। दोस्रो हाफको खेलमा ३७ औं मिनटमा युनाईटेड दार्जिलिङको जर्सी नम्बर १० एंव कप्तान गणेश लिम्बुले गोल गरेर फेरि खेल बराबरीमा ल्याएका थिए। उनी स्थानीय खेलाडी पनि हुन्। खेल बराबरीमा चलिरहेको समय युनाइटेड दार्जिलिङ एफसीको जर्सी नम्बर ७ रोनिक राईले गोल गरेपछि युनाईटेड दार्जिलिङ एफसीले ३-२ को बढत बनाएको थियो। दोस्रो हाफको खेल समाप्त हुन अघि दिइएको ३ मिनटको अतिरिक्त समयमा युकेएफसीको खेलाडी जर्सी नम्बर १० राज रावतले विपक्षी दलको गोल पोष्टमा गोल गर्ने सुन्दर मौका पाएँ पनि त्यस मौकालाई गोलमा परिणत गर्न सकेन।

उनलाई गोल बराबरी गर्ने सुनौलो अवसर रहेको थियो। तर त्यो अवसरलाई गोलमा परिणत गर्न नसकेपछि युनाइटेड दार्जिलिङ एफसी ३-२ को अन्तरले विजयी हुँदै तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको फाइनलमा पुग्न सफल बनेको छ। अब आगामी १० जनवरीमा सम्पन्न हुने तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको फाइनल खेलमा उपाधिको लागि युनाइटेड दार्जिलिङ एफसीको भीड्न्त जर्जियन एफसी कालेबुङसित हुने भएको छ। जर्जियन एफसी कालेबुङले शनिवार भएको पहिलो सेमी फाइनल खेलमा ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीलाई पराजित गरी फाइनलमा प्रवेश गरेको थियो। यस दोस्रो सेमी फाइनल खेलमा म्यान अफ् द म्याच युनाईटेड एफसी दार्जीलिङको जर्सी नम्बर ७ रोनिक राई चयन भएका छन्। आजको खेलमा मुख्य अतिथिको रुपमा खरसाङ खण्ड पञ्चायत समितिको कर्माध्यक्ष सुकमान उराव उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा घैयाबारी दुई ग्राम पञ्चायतको पञ्चायत प्रधान भगवती प्रधान र शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधान उपस्थित रहेका थिए। यस खेलमा सम्पन्न कार्यक्रमलाई युवराज सुन्दासले सञ्चालन गरेका थिए।

आज सम्पन्न दोस्रो सेमी फाइनल खेल एकदमै रोमाञ्चक बनेको थियो। शुरुदेखि नै दुवै दलबाट गोल गर्ने क्रम जारी राखेको थियो। दुवै दलबाट एकपछि अर्काे गोल खेल एकदमै रोमाञ्चक बनाएको थियो। दोस्रो सेमी फाइनल खेल पहिलो सेमी फाइनल खेलभन्दा रोमाञ्चक बनेको थियो।तीनधारेको मिठाईडाँडास्थित ७७६६ खेल मैदानमा उपस्थित दर्शकहरुको भीडले खेलको आनन्द उठाएका थिए। यस खेलमा युकेएफसीको तर्फबाट जीटीए ईलेभेनका खेलाडीहरु मैदानमा उत्रिएका थिए भने युनाइटेड दार्जिलिङ एफसीको तर्फबाट जर्सी नम्बर १७ निरज कार्की नेपालको राष्ट्रिय दलको खेलाडी मैदानमा थिए जसले साफ च्याम्पियशीपमा अण्डर २०मा नेपालबाट खेलेको जानकारी गराइएको छ। त्यसरी नै अर्का खेलाडी मोहमोडन स्पोर्टिङ्ग क्लबबाट खेलिसकेका खेलाडी रहेका थिए। आजको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको सचिव रञ्जित थापाले तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको दुवै फाइनलिस्ट टिम प्राप्त भएको र अब उपाधिको लागि आगामी १० जनवरीमा हुने फाइनल खेलमा युनाइटेड दार्जिलिङ एफसी र जर्जियन एफसी कालेबुङमाझ भीडन्त हुने बताएका छन्। उनले फाइनल खेलमा विभिन्न सांगीतिक प्रस्तुतिहरु र प्रदर्शनी म्याचको रुपमा गर्ल्स फुटबल पनि हुने जानकारी गराएका छन्। उनले फाइनलमा दार्जिलिङ पुलिस गर्ल्स र मधुर मिलन संघ, मिलनमोड गर्ल्समाझ प्रदर्शन खेल हुने जानकारी गराएका छन्।

सचिव रञ्जित थापाले तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित दुई लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने जानकारी गराएका छन्।










