गेजिङ: गेजिङ जिल्लाको योक्सम टाशीडिङ समष्टि अन्तर्गत गाङग्यापमा नाम अल नामसुङ समारोह विविध कार्यक्रमका साथ भव्यतापूर्वक पालन गरियो। गाङग्याप नामसुङ समारोह समितिको तत्वावधानमा आयोजित समाराेहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले आदिम जनजाति लेप्चा समुदायको महान पर्व नामसुङ उत्सवको सबैमा हार्दिक शुभकामना व्यक्त गरे। गाङग्याप समारोह समितिका समस्त सदस्यहरूलाई यस कार्यक्रममा आमन्त्रित गरेर आफूलाई सहभागी बन्ने अवसर प्रदान गरेकोमा धन्यवाद दिए। राज्यका तमाम दुर्गम क्षेत्रहरूलाई विकास गरेर राजधानी गान्तोक सरह बनाउने सरकारको योजना रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले यस नामसुङ पर्वमा केवल लेप्चा जाति मात्र नभएर सबै समुदायको सहभागिता रहेकोमा खुशी व्यक्त गरे।
उनले सम्पूर्ण सिक्किमेली जनता नङ र मासु सरह एक भएर बसेको बताउँदै सबैलाई एउटै मालामा उनेर सरकार सञ्चालन गर्दै आइरहेको बताए। पूर्व सरकारकालमा कुनै पनि जातीय पर्व आयोजना गर्नअघि मिन्तोकगाङलाई सोध्नुपर्थ्यो, तर वर्तमान सरकारमा यस्तो अवस्था नरहेको उल्लेख गरे। गाङग्याप जस्तो दुर्गम क्षेत्रमा पनि यसरी भव्यताका साथ नामसुङ पर्व आयोजना गरेकोमा समारोह समितिको सराहना गर्दै मुख्यमन्त्रीले गाङग्याप जस्तो दुर्गम क्षेत्रबाट कुसुङमित लेप्चा जस्ता प्रतिभाहरू जन्मिएको र हाल उनले नर बहादुर भण्डारी फेलोसिप योजना मार्फत क्याम्बब्रिज विश्वविद्यालयबाट शिक्षा आर्जन सफल बनेको उदाहरण प्रस्तुत गरे।
यसरी सबैजना एक ठाउँ भेला भएर कुनै पनि समारोह आयोजना गर्दा एकता झल्किने मन्तव्य व्यक्त गर्दै आफ्नो जातिलाई अन्नतकालसम्म बचाइराख्न भाषाको संरक्षण र सम्बर्धनमा योगदान दिन आह्वान गरे। आफ्नो मातृभाषा आफ्नो सन्तानलाई पढाउनु अनिवार्य रहेकाे बताउँदै सरकारले विभिन्न जातिका भाषाविद्वहरू सरकारका विभिन्न पदहरूमा नियुक्ति गरेको जानकारी गराए। एसकेएम सरकारले विगत पाँच वर्षदेखि लेप्चा समुदायको हितमा विभिन्न कल्याणकारी कार्यहरू गर्दै आएको बताउँदै लेप्चा भवनको निम्ति आउँदो बजेटमा धनराशि आवण्टन गरी लेप्चा भवनको निम्ति पहल गरिने मुख्यमन्त्रीले अवगत गराए।
मुख्यमन्त्रीले लेप्चा संगठनद्वारा राखिएका विभिन्न मागहरूलाई हरसम्भव पूरा गरिने मुख्यमन्त्रीले आश्वासन पनि दिए। यसैगरी क्षेत्र विधायक तथा मन्त्री टीटी भोटियाद्वारा राखिएका विभिन्न मागहरूलाई पनि समाधान गरिने मुख्यमन्त्रीले आश्वासन दिए। योक्सम टाशीडिङ निर्वाचन क्षेत्रलाई प्राथमिकता दिएर सरकारले काम गर्दै आएको उनले अवगत गराए। यस क्षेत्रमा सामुदायिक स्वास्थ्य केन्द्र निर्माण गर्ने मुख्यमन्त्रीले घोषणा गरे।
कार्यक्रममा मुख्यमन्त्री वित्तीय सहायता कोष अन्तर्गत लाभार्थीहरूलाई चेक हस्तान्तरण गरियो। समारोहमा विभिन्न जाति समुदायको परम्परा झल्काउने सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।











