गान्तोक: सोरेङ जिल्लाको महिला एवम वाल विकास विभाग अन्तर्गत सञ्चालित ग्रामीण योजनाको पहलमा आज महिनाव्यापी राष्ट्रीय पोषण माह कार्यक्रमको शुभारम्भ गरियो। सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आयोजित सो कार्यक्रममा जिल्लापाल भीम ठटाल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने अतिरिक्त जिल्लापाल धिरज सुवेदी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। उल्लेखनीय छ, उक्त योजनाको उदघाटन देशका प्रधानमन्त्री नरेन्द्र मोदीले वर्ष २०१८ को अन्तराष्ट्री महिला दिवसको अवसरमा गरेका हुन्। यो केन्द्र सरकारको एक ध्वाजवाहक कार्यक्रम र प्रत्येक वर्ष सेप्टेम्बर महिनामा यो कार्यक्रम पालन गर्दै आइरहेको छ। यस कार्यक्रमको थिम सशक्त सबल नारी, साक्षर बच्चा र स्वास्थ्य भारत रहेको छ। आजको कार्यक्रममा जिल्लापाल ठटालले विभागका अधिकारीहरूलाई शपथ ग्रहण दिलाए। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापालले सर्वप्रथम राष्ट्रीय पोषण माहको अवसरमा सबैलाई बधाई दिए।विशेष गरे न्युट्रेसनको माध्यमद्वारा बाल-बालिकाको शारिरिक साथै मानसिकस्तरमा पनि वृद्धि हुने उनले जानकारी गराए। पोष्टिक आहारले नानीहरूको समग्रमा विकास हने भएकोले यसको महत्व सबै भन्दा अधिक रहेको बताए। नानीहरूको समग्र विकास हुनको लागि सर्वप्रथम आमा स्वास्थ्य हुनु आवश्यक रहेको अवगत गराए। यसर्थ उनीहरूका लागि स्वस्थ र पोषण हेरचाह पनि उपलब्ध गराउनु पर्ने विषयमा उनले जोर दिए। यसै क्रममा बाल विकास परियोजना अधिकारी गौरी तामाङले योजनाको गहिरो प्रतिवेदन प्रस्तुत गर्दै जिल्लामा कुनै पनि गम्भीर तीव्र कुपोषण र माध्यम तीव्र कुपोषण मामिला नभएको तर पनि कम तौलका बच्चा जन्माउने घटना दर्ता भईरहेको अवगत गराइन्। यस्ता घटनाको मुख्य कारण आमाको रक्तअल्पता हुने स्वास्थ्य अवस्था रहेको भन्दै विभागले पर्याप्त मात्रामा पोषणयुक्त स्थानीय तथा परम्परागत खाद्यपदार्थ उपभोग गर्न समुदायलाई सक्रियताका साथ प्रोत्साहित गरिरहेको उनले आफ्नो सम्बोधनमा उल्लेख गरिन्।

यसै क्रममा नाम्चीमा पनि महिला एवं बाल विकास विभागद्वारा आयोजित पोषण महीनाको उद्घाटन जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन कक्षमा सम्पन्न भयो। अतिरिक्त जिल्लापाल डा. सीपी राईको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षा विभागका प्रमुख कार्यकारी अधिकारी के. इमभाराज, नाम्चीका सीएमओ डा. डीसी शर्मा, एमओ डा. निलिमा ठटाल, आँगनवाड़ी अनि आईसीडीएसका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बाल विकास कार्यक्रम अधिकारी लक्ष्मण तामाङले पोषण महीनाबारे संक्षिप्त प्रतिवेदन पेश गरे। देशव्यापी रूपमा आजदेखि शुरु भएको यो कार्यक्रम ३० सेप्टेम्बरको दिन समाप्त हुनेछ। कार्यक्रममा आयुषका डा. निलिमा ठटालले स्वस्थ जीवनमा पोषणसँगै योगाको महत्वबारे प्रकाश पारिन्।