सोनादा: अहमद डेन्टल कलेज एवम् अस्पतालबाट बीडीएस (बेचलर अफ डेन्टल) को परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेर लोहापूल निवासी लाडेन मोक्तान डेन्टल डाक्टर बन्न सफल बनेकी छन्। “आत्मविश्वास, मेहनत र परिश्रम नै सफलताको कुञ्जी हुन्। यद्यपि आत्मविश्वाससँगै भविष्यको लक्ष्यलाई पनि आफूसँग साथै लिएर हिड्ने मानिस नै सफलता पाउँछ”-यस भनाइलाई साकार बनाउने उदाहरणीय कार्य गरेकी छन् लोहापूल निवासी सुरेन मोक्तान र साङडोल्मा मोक्तानकी छोरी लाडेन मोक्तानले। ‘सफलता लक्ष्य होइन सफलता त एउटा यात्रा हो।’ डाक्टर लाडेन मोक्तानको सोच हो। सानैदेखि तीक्ष्ण बुद्धिका लाडेनले कालेबुङ सन्त जोसेप कन्भेन्टबाट आइसीएसईमा प्रथम दर्जामा उत्तीर्ण भएर त्यसबेला नै आफ्नो लक्ष्य तय गरेको बताउँछिन्। त्यसपछि उनले कालेबुङ केन्द्रीय विद्यालयबाट सीबीएसई पनि प्रथम श्रेणीमा नै उत्तीर्ण गरेर आफ्नो लक्ष्यलाई अझ मजबुत बनाइन्। यसपछि लाडेनले आकाश शैक्षिक संस्थानबाट निट परीक्षा सफलतापूर्वक पूरा गरेपछि गत वर्ष २१ दिसम्बर २०२४ को दिन अहमद डेन्टल कलेज एवम् अस्पतालबाट बीडीएस (बेचलर अफ डेन्टल) को परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेर डेन्टल डाक्टर बन्न सफल भइन्। असफल हुन डराउनु हुँदैन कारण असफलता नै सफलताको साँचो हुन भन्ने डा. लाडेन साच्चै सफलताको शिखरमा पुगेर आफ्नो परिवार र आफन्तजनको मात्र होइन सम्पूर्ण पहाड तराईवासीको निम्ति गौरव बनेकी छिन् साथै आउने पिँढीको निम्ति उदाहरण बन्न पुगेकी छिन्। गाउँकी छोरी डक्टर बनेको हालैमा उनलाई रोङचोङ गाउँका पीवाईएस संस्थाद्वारा अभिनन्दन पत्र प्रदान गर्दै सम्मानित गरिएको छ। सफलताको उचाई छुुने डा. लाडेन हाल कलकत्तामा रहेर एमडीएस गरिरहेकी उनका परिवारजनले बताएका छन्।










