खरसाङ: जर्जियन एफसी कालेबुङ तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेस गर्ने पहिलो टिम बनेको छ। युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट अन्तर्गत आज पहिलो सेमी फाइनल खेल जर्जियन एफसी कालेबुङ र ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीमाझ सम्पन्न भएको थियो। यस खेलको पहिलो हाफमा कुनै गोल भएन अनि पहिलो हाफको खेल बराबरीमा समाप्त भएको थियो। तर जर्जियन एफसी कालेबुङको जर्सी नम्बर २४ कुञ्जमान थापाले गरेको प्रहार ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीको गोल पोष्टमा लागेर फर्केको थियो। पहिलो हाफको खेलमा दुवै दलबाट प्रयास गरे पनि गोल भने हुन सकेन। दोस्रो हाफको खेलमा पनि खेल बराबरीमा चलेको थियो। तर दोस्रो हाफको खेलमा दिइएको अतिरिक्त ३ मिनटको खेलमा जर्जियन एफसी कालेबुङको जर्सी नम्बर २२ प्रवीण सुब्बाले गोल गरेर आफ्नोे टिमलाई फाइनलमा प्रवेश गराउन सफल बनेको छ। यस खेलमा म्यान अफ् द म्याच जर्जियन एफसी कालेबुङको जर्सी नम्बर ५ प्रवेश रोय चयन भएका छन्। यस सेमी फाइनल खेलमा जर्जियन एफसी कालेबुङको तर्फबाट पाँचजना खेलाडीहरु जीटीए ईलेभेनका खेलाडीहरु मैदानमा उत्रिएको बताइएको छ। तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको पहिलो सेमी फाइनल हेर्न आएका अधिकांश दर्शकहरुले पनि जर्जियन एफसी कालेबुङलाई सपोर्ट गरेको देखिएको थियो।आजको खेलमा मुख्य अतिथिको रुपमा बिन्नी शर्मा अनि विशिष्ट अतिथिको रुपमा विराज प्रधान उपस्थित रहेका थिए। अब आईतबार हुने दोस्रो सेमी फाइनल खेल युनाइटेड एफसी दार्जिलिङ र युकेएफसी खरसाङमाझ सम्पन्न हुने भएको छ। दोस्रो सेमी फाइनलमा जसले जित्छ शनिबारको विजेता जर्जियन एफसी कालेबुङसित उपाधिको लागि भिड्नेछ। आजको पहिलो सेमी फाइनल खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको सचिव रञ्जित थापाले आजको खेलमा आशा अनुरुप जर्जियन एफसी कालेबुङले जितेर तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेश गरेको बताएका छन्। उनले ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीले पनि राम्रो खेल प्रदर्शन गरेको तर खेल सकिन अतिरिक्त 3 मिनटको समयमा जर्जियन एफसी कालेबुङले गोल गरेर बिजय हुँदै फाइनलमा प्रवेश गरेको बताएका छन्।

बसचि रञ्जित थापाले बताए अनुसार आईतबार हुने दोस्रो सेमी फाइनल खेल युनाइटेड एफसी दार्जिलिङ र युकेएफसी खरसाङमाझ सम्पन्न हुने भएको छ। तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १० जनवरीमा हुने भएको जानकारी गराएका छन्। उनले तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित दुई लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने जानकारी गराएका छन्।










