पोखरा: बेनीघाट-आरुघाट हुँदै चीनसँगको सिमाना लार्के भञ्ज्याङसम्म जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ। कूल १५४ किलोमिटर लामो सडकमध्ये ९७ किलोमिटर खण्डमा चारपांग्रे गाडी गुड्न मिल्ने भएको छ।
बेनीघाटदेखि हावाडाँडासम्मको ६२ किलोमिटर खण्ड सडक विभागले बनाएपछि हावाडाँडादेखि लार्केभञ्ज्याङसम्मको बाँकी ९२ किलोमिटर खण्ड नेपाली सेनाले सुम्पिएको थियो। त्यसमध्ये नेपाली सेनाले हालसम्म ३५ किलोमिटर ट्र्याक खोलिसकेको छ।
हावाडाँडादेखि चुमनुब्री गाउँपालिकाको पाङसिङसम्म ट्रयाक खुलेर सवारी सञ्चालनमा आइसकेको छ। हावाडाँडादेखि दोभानसम्मको १८ किलोमिटर खण्ड नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण समेत गरिसकेको छ। सहज रुपमा सवारी साधन सञ्चालनका लागि माछीखोलामा बेलिब्रिज राखिएको छ।
अहिले पाङसिङदेखि माथि ट्रयाक खोल्ने काम भइरहेको छ। सडकलाई चार खण्डमा विभाजन गरी काम भइरहेको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ। कार्यदलका अनुसार पाङसिङ भिर, न्याक फेदी, रुविनाला र पेवा भिरमा ब्लाष्टिङको काम भइरहेको छ।
यस वर्ष दुई किलोमिटर ट्रयाक खन्नका लागि नेपाल सरकारबाट सात करोड बजेट विनियोजन भएको छ। बजेट कम भएको भन्दै थप गरिदिन चुमनुब्री गाउँपालिकाले माग गर्दै आएको छ। गत वर्ष दश करोड रकम विनियोजन भएको थियो।
१९९६ सालमा बेनीघाट-आरुघाट-आर्खेत खण्डमा निर्माणको काम सुरु भएको थियो। आर्थिक वर्ष २००७/२००८ मा बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक नामकरण गरी सडक विभागलाई निर्माणको कार्यभार दिइएको थियो।
सडक निर्माणको सुरुआत भने आव २०१०/२०११ मा मात्र भएको थियो। तर हावाडाँडादेखि करिव १ किलोमिटर क्षेत्र कडा चटानयुक्त भिर परेकाले पाँच वर्षसम्म ट्रयाक खोल्ने कार्य अगाडि बढ्न सकेको थिएन।
दिसम्बर ११, २०१६ को मन्त्रिपरिषद बैठकले सडक निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सो निर्णयअनुसार २०१६ अप्रैलमा सडक विभागले नेपाली सेनालाई कार्यभार सुम्पिएको हो। नेपाली सेनाले काम भने २०१७ अप्रैलबाट शुरु गरेको थियो।
उक्त सडक धार्चे गाउँपालिकाको लापुबेसी, माछाखोला, जगत हुँदै चुमनुब्री गाउँपालिकाको सिर्दिवास, बिही, प्रोक, सामागाउँ, साम्दो हुँदै चीनसँगको सिमाना लार्के भञ्ज्याङ जोडिने छ।
उक्त सडकलाई उत्तरी गोरखाको लाइफलाइनको रुपमा हेरिएको छ। तर सरकारले पर्याप्त बजेट विनियोजन नगरेको सो क्षेत्रका बासिन्दाको गुनासो छ।











