तीनधारे: युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टमा पहिलो सेमी फाइनल अन्तर्गत आज शनिवार दिउँसो जर्जियन एफसी कालेबुङ र ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीमाझ सम्पन्न हुने भएको छ। गत 15 दिसम्बरदेखि शुरु भएको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको सेमी फाइनलमा पुग्ने चारवटा टिमहरु तय भईसकेको छ। यस अन्तर्गत पहिलो सेमी फाइनल खेल शनिवार दिउँसो जर्जियन एफसी कालेबुङ र ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीमाझ सम्पन्न हुने भएको छ। गत क्वाटर फाइनलमा जर्जियन एफसी कालेबुङले नर्थ बेंगल फुटबल क्लब सिलगढीलाई अनि ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीले शिवखोला एफसीलाई पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको थियो। अब फाइनलमा पुग्नको लागि जर्जियन एफसी कालेबुङ र ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीमाझ भीडन्त हुनेछ।त्यसरी नै दोस्रो सेमी फाइनल खेल आगामी ५ जनवरी आईतबारको दिन दिउँसो युनाइटेड दार्जिलिङ एफसी र युकेएफसी खरसाङमाझ सम्पन्न हुने भएको छ। क्वाटर फाइनलमा युनाइटेड दार्जिलिङ एफसीले नर्थ बेंगल आर्म पुलिसलाई अनि युकेएफसीले मोरङ नेपाललाई पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको थियो। अब फाइनलको लागि युनाइटेड दार्जिलिङ एफसी र युकेएफसीमाझ सेमीफाइनलमा भीडन्त हुने भएको छ। तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १० जनवरीमा हुने भएको जानकारी युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको सचिव रञ्जित थापाले दिएका छन्। उनले जानकारी गराए अनुसार तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित दुई लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ।