खुशी दुतराज बनिन् ‘नमस्ते आइडल-२०२४’

WhatsApp-Image-2025-01-03-at-17.47.44-1
  • प्रथम उपविजेता राहुल थापा (मजुवा खरसाङ)
  • दोस्रो उपविजेता अलिशा शंकर (रंगबुल)

खरसाङ: नयाँ कलाकारहरूका निम्ति सङ्गीतको आकाशमा उड्ने  रनवेको प्रतीक रहेको ‘नमस्ते आइडल-२०२४’को उपाधि जितेर अब मिरिककी खुशी दुतराजको उडान शुरु भएको छl नयाँ वर्षको २०२५ को  शुरुवातमै आज खरसाङमा रमाइलो वातावरणमा ‘नमस्ते आइडल २०२४- सिजन २’ भव्य रुपमा सम्पन्न भयोl दार्जीलिङ पहाडी भेकको लोकप्रिय टीभी च्यानल नमस्ते खरसाङको आयोजनामा क्याम्ब्रिज इङ्गलिस स्कूलको हलमा नेपाली गायन प्रतियोगिता ‘नमस्ते आइडल-२०२४’ सिजन-२ सम्पन्न भयोl आज भएको यस प्रतियोगिताको फाइनलमा प्रथम उपविजेता राहुल थापा (मजुवा खरसाङ), दोस्रो उपविजेता अलिशा शंकर (रंगबुल) अनि शाहरुख राई (सिटोङ) ले चौथो र ईश्वर सुन्दास (डाउहिल)ले पाँचौ स्थान प्राप्त गरेका छन्l यी पाँचै प्रतियोगीहरूको उडान अब सङ्गीतको आकाशमा शुरु भएको छl यस प्रतियोगितामा ‘नमस्ते आइडल-२०२४ की विजेता खुशी दुतराजलाई रु० २५ हजार, प्रथम उपविजेता राहुल थापालाई रु० १५ हजार अनि दोस्रो उपविजेता अलिशा शंकरलाई रु० १० हजार साथै आकर्षक ट्रफी प्रदान गरियोl चौथो स्थान प्राप्त गरेका शाहरुख राई र पाँचौं स्थान प्राप्त गरेका ईश्वर सुन्दासलाई पनि आकर्षक ट्रफी प्रदान गरियोl

प्रतियोगितामा निर्णायकहरू

यस प्रतियोगितामा निर्णायकहरू सुपरिचित संगीतकार तथा संगीत संयोजक उपेन्द्र प्रधान, गायिका तथा लेखिका श्रीमती प्रमिता गुरुङ अनि सुपरिचित संगीतकार तथा संगीत संयोजक महेश्वर तामाङ (आकाशवाणी खरसाङका पूर्व संगीतकार) प्रतियोगिताका ग्राण्ड मास्टर रहेका थिएl यस अतिरिक्त फाइनलमा अतिथि निर्णायकहरू कालेबुङबाट गायक-सङ्गीतकार अजय राई, मिरिकबाट सङ्गीतकार तथा  चलचित्र निर्देशक कैलाश राई र सिलगढीबाट गायक-सङ्गीतकार प्रकाश प्रधान रहेका थिएl

गायकहरूलाई उर्जा दिने ‘बागिना’

दर्शकहरूले खचाखच भरिएको हलमा पाँचै प्रतियोगीहरूले गीतहरू प्रस्तुत गरेर सबैलाई नयाँ वर्षको भरपुर मनोरञ्जन गराएl नमस्ते आइडलको यो मंचले यी कलाकारहरूका निम्ति आत्मविश्वासको निम्ति उर्जा सञ्चार गराएको थियोl हिमाली भेकका लोकप्रिय ब्याण्ड खरसाङको ‘बागिना’को लाइभ म्युजिकले उनीहरूलाई गीत गाउने जोश र हौसला प्रदान गरेको थियोl एनके समाचारका समाचार वाचक तथा सुपरिचित उद्घोषक विश्व सुब्बाले रमाइलो गरी संचालन गरेको कार्यक्रमको शुरुवातमा एनके समाचारकै समाचार वाचिका तथा सुपरिचित उद्घोषिका सबिना गिरीले सरस्वती वन्दना प्रस्तुत गरिन्l   

फाइनलको यस रमाइलो कार्यक्रममा  सभासद श्याम शेर्पा, खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष सुवास प्रधान, समाज सेवक टी टी लामा, जीटीएका सूचना अनि संस्कृतिक विभागका सह निर्देशक तथा सुपरिचित साहित्यकार विमल राई, गोर्खा जन पुस्तकालय, जागृति परिवार, गोर्खा सांस्कृतिक संस्थान, प्रतिभा परिवारका पदाधिकारीहरू र सदस्यहरूको उपस्थिति रहेको थियोl सुपरिचित गायकहरू थुप्देन भुटिया र महेश सेवा, साइराज खाती, बाल गायक आयुस लामा, सुपरिचित सङ्गीतकर राजु सुन्दासको उपस्थितिले कार्यक्रममा छुट्टै रौनक छाएको थियोl         

पुरस्कारका प्रायोजकहरू   

सात समुद्र पारि विदेशको भूमिमा कार्यरत रहेर आफ्नो ठाउँ सिर्जनात्मक कार्यको सोंच राख्ने सामजिक चिन्तनशील व्यक्तिहरूले प्रथम, दोस्रो र तेस्रो पुरस्कार प्रायोजित गरेका थिएl अमेरिकाबाट सामाजिक कार्यकर्ताहरू अर्जुन रसाइली, आर बी खड्का र सुचिता गुरुङले प्रथम पुरस्कारको राशि रु० २५ हजार, इङ्गल्याण्डबाट सामाजिक कार्यकर्ता माला गुरुङले दोस्रो पुरस्कार रु०१५ हजार अनि अमेरिकाबाट सामाजिक कार्यकर्ता कुमार मिश्रले तेस्रो पुरस्कारको राशि रु० १० हजार पठाएकोनमस्ते खरसाङका प्रबन्धन निर्देशक निर्मल गुरुङले बताएका छन्l उनीहरू सबैलाई निर्मल गुरुङले नमस्ते खरसाङको तर्फबाट आभार प्रकट गर्दै धन्यवाद जनाएका छन्l

यसरी भएको थियो अडिशन

नमस्ते आइडल २०२४-सिजन २ अडिशन अनलाइन प्रक्रियाद्वारा गरिएको थियोl जसमा १३ जना प्रतियोगी गायक-गायिकाहरू चयन भएका थिएl  २१ दिसम्बर २०२४ मा  खरसाङको क्याम्ब्रिज इङ्गलिस स्कूलको हलमा १३ जना प्रतियोगीहरू माझ पहिलो चरणमा लाइभ राउण्ड सम्पन्न भएको थियोl लाइभ राउण्डको प्रथममा सङ्गीतबिना गाउनु पर्ने थियोl दोस्रो राउण्डमा ट्रयाक राउण्ड, जसमा ट्रयाकमा गाउनु पर्ने थियोl यसबाट १० जना प्रतियोगीहरू चयन भएका थिएl यिनै १० जना प्रतियोगीहरूमा २२ दिसम्बर २०२४ को दिन सोही स्कूलको हलमा फाइनलको लागि पाँच जना चयन भएका थिएl

नयाँ प्रतिभालाई रनवे

एउटा हवाईजहाजलाई आकाश तर्फ उडान भर्नका लागि रनवेको आवश्यकता पर्दछl यस्तै हरेक कलाकार संसारको जुनसुकै कुनामा होस् उसलाई पनि आफ्नो लक्ष्यमा उडान भर्न एउटा मंच अर्थात रनवेको आवश्यकता पर्दछl नमस्ते आइडल हरेक नयाँ कलाकारहरूका निम्ति एउटा रनवेको प्रतीकको रुपमा स्थापित भएको छl नमस्ते खरसाङले गत वर्षदेखि यो प्रतियोगिता शुरु गरेको होl नयाँ प्रतिभाहरूको प्रतिभालाई निखार्ने, अझ ठूला मंचमा प्रतिस्पर्धा गर्न आत्मविश्वास बलियो बनाउने, उर्जा सञ्चार गराउने यो प्रतियोगिताको उद्देश्य रहेको नमस्ते खरसाङका प्रबन्धन निर्देशक निर्मल गुरुङले बताएका छन्l नयाँ प्रतिभाहरूको प्रतिभालाई निखार्ने साथै उनीहरूमा आत्मविश्वास र नयाँ उर्जा भर्ने  यस्ता प्रतियोगिताहरू नमस्ते खरसाङले आफ्नो स्थापना कालदेखि नै गर्दै आइरहेको छl नमस्ते खरसाङले यस  भन्दा अघि बालबालिकाहरूका लागि ‘किड्स फेशन  शो’ र नृत्य प्रतियोगिता आयोजना गरेको थियोl यस बाहेक ‘कविश्री’ प्रतियोगिता पनि आयोजना गरिसकेको छl यसबाहेक सामाजिक कार्यमा सधैं सक्रिय रहँदै आएको छl    

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement