खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज तीन ग्राम पञ्चायतको गाडीधुरा सार्वजनिक भवनमा गाडीधुराका पसलहरूमा पञ्चायतको तर्फबाट डस्टबीनहरु वितरण गरिएको छ। स्वच्छ भारत मिशन अन्तर्गत आफ्नो गाउँ घर सफा राख्नलाई सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन साथै उप प्रधान सन्तोष लामाको अगुवाईमा उक्त डस्टबीनहरु वितरण गरिएको छ। गाउँ घर स्वच्छ राख्न ग्राम पञ्चायतले मैला उठाउने पिकअप भ्यान पनि व्यवस्था गरेको छ। स्वच्छ भारत मिशन कार्यक्रमलाई सम्बोधन गर्दै सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनले नयाँ वर्ष २०२५ देखि पञ्चायत कार्यालयमा वासिन्दा प्रमाण पत्र,आय प्रमाण पत्र, एनओसी साथै अन्य कुनै पनि कागज पत्रहरु पञ्चायतमा बनाउन परे त्यसको कुनै पनि शुल्क ग्राम पञ्चायतमा तिर्न नपर्ने जनाएका छन्। उनले यी सबै प्रमाण पत्रहरू निःशुल्क पञ्चायतमार्फत दिइने जनाए साथै नयाँ वर्ष २०२५ देखि पञ्चायतमार्फत एम्बुलेन्स सेवा पनि शुरू गरिने जानकारी गराए। कार्यक्रममा सन्त मेरिज तीन ग्राम पञ्चायत सदस्य धनप्रसाद तामाङ, सदीप मिजार, दिनेस थापा आदिको विशेष उपस्थिति रहेको थियो।