कालचिनी: गत २८ अगस्तको दिन एसियन हाईवे ४८ हाँसीमारा संलग्न क्षेत्रबाट चितुवाको सक्लो छाला र भालूको पित्त औ यार्सागुम्बा जड़ीबूटिसहित पक्रा परेका विजय रायलाई आज वन विभागले रिमान्डको क्रममा जयगाउँ ल्याएका थिए। जाँचको क्रममा विजय रायले जयगाउँ देवकोटा टोलमा एउटा आयुर्वेदिक पसल चलाउँदै आईरहेको खुलासा भएपछि नै आज वन विभागले तिनको उक्त पसलमा जाँचको निम्ति ल्याउँदा वन विभागले अझै यार्सागुम्बा जड़ीबूटि तिनको पसलबाट फेला पार्न सफल भएको बताएका छन्।
वन विभागले जनाएअनुसार उक्त विजय राय उत्तर २४ परगाना काशीपुर हावड़ा निवासी रहेको तर विगत एक वर्षदेखि जयगाउँ देवकोटा टोलमा आयुर्वेदिक पसल खोलेर चलाउँदै आइरहेको थियो। एउटा गोप्य सूचनाको आधारमा पुलिस र वन विभागको संयुक्त अभियानमा ३० वर्षीय विजय रायलाई हाँसीमारा संलग्न एसियन हाईवे ४८ क्षेत्रबाट हिमालयन चितुवाको सक्लो छाला र भालूको पित्त औ यार्सागुम्बा जड़ीबूटिसहित समाउन सफल भएको थियो। बक्सा ब्याघ्र प्रकल्प पश्चिमका डीएफडी प्रवीण कासवानले रिमान्डमा रहेको आरोपी विजय रायलाई आज जाँचको क्रममा जयगाउँ ल्याईएको बताएका छन्।