विराटनगर: मोरङको रंगेली र जहदामा एक जना बालकसहित २ जना मृत फेला परेका छन्।
रंगेली नगरपालिका-८ स्थित दर्वेशाका विकास चुरैटेको १ वर्षीय छोरा समर चुरैटेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो पौन १ बजेतिर आफ्नै घरको कलको पानी जम्मा हुने खाल्डोमा डुबी घाइते भएका समरलाई तत्कालै उपचारका लागि रंगेली अस्पताल ल्याएर चिकित्सकले चेक जाँच गर्ने क्रममा सवा १ बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय दोहमनाको प्रहरी टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।त्यस्तै, जहदा गाउँपालिका-४ स्थित सिसौबारी टोलमा रंगेली नगरपालिका-२ बबियाबिर्ताका ३२ वर्षीय महेश हस्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
सिसौबारी टोलस्थित रोडको नालामा तत्काल पहिचान नखुलको पुरुष व्यक्ति मृत अवस्थामा छ भन्ने खबर बिहीबार बिहान पौन ९ बजेतिर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय पोखरियाको टोली पुगेर घटनास्थललाई सुरक्षित बनाएको थियो।
मृतकको पहिचान र घटनाको अनुसन्धान गर्ने क्रममा उनको पहिचान खुलेको हो। रुबिना मुर्मले मृत अवस्थामा भेटिएका हास्दा आफ्नो श्रीमान रहेको बताएकी थिइन्। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको टोलीले घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।