गान्तोक। एसकेएम पार्टीको रिनाक समष्टि सामाजिक सेवा शाखाकी महासचिव मनु तामाङले आफुमाथि लगाइएका आरोपहरूको स्पष्टीकरण दिएकी छन्। केही कार्यकर्ताहरूले आफ्नो व्यक्तिगत फाइदाको निम्ति उनलाई पार्टीमा नराम्रो देखाउने काम गरिरहेको आरोप पनि उनले लगाएकी छन्।
उल्लेखनीय छ, गत १६ मईको दिन मिन्तोकगाङमा भएको घटनालाई लिएर एसकेएम पार्टीका कार्यकर्ताहरूबीच आरोप प्रत्यारोपको शुरू भएको छ। रिनाक निवासी एसकेएम कार्यकर्ता तुलासा पौड्यालले हिजो एक पत्रकार सम्मेलनमा १६ मईको दिन मनु तामाङले दिग्भ्रमित गरेर आफुहरूलाई मिन्तोकगाङ लिएर आएको आरोप लगाएकी थिइन्। उक्त दिन मिन्तोकगाङ परिसरमा एसकेएम कार्यकर्ताहरूले कथित रिनाकका क्षेत्र विधायक विरूद्ध आवाज उठाएका थिए।
मनु तामाङले १६ मईको दिन मिन्तोकगाङमा आफ्नो व्यक्तिगत फाइदाको निम्ति नभएर क्षेत्रका जनताकै फाइदाको निम्ति गएको दाबी गरिन्। तर, तुलसा र उनको समूह भने व्यक्तिगत फाइदाको अभिप्राय लिएर गएको थिएछ भन्ने स्पष्ट भएको उनले बताइन्। उनले त्यस दिन क्षेत्र विधायक अथवा पार्टी नेतृत्वहरूको विरोधमा नबोलेको स्पष्ट पार्दै आफुले केवल पार्टी कार्यकर्ताहरूसॅंग भेदभाव हुनुहुॅंदैन भन्ने कुरा मात्र गरेको बताइन्। उनले क्षेत्र विधायकलाई पनि दिग्भ्रमित गर्ने काम हुॅंदैछ भन्दै मुख्यमन्त्रीलाई वास्तविक कुराहरू राख्न आएका थियौं भनी बताइन्।
अर्कोतिर, उनले तुलसा पौड्याल एसडीएफ पार्टीको कार्यकर्ता रहेको आरोप पनि लगाइन्। उनीहरूले नै विधायक बीके खतिवडाको छोरा र पार्टी नेतृत्वहरूमाथि हातपात गरेको थियो र यस सम्बन्धमा अझै पनि कानूनी कारबाही चलिरहेको उनले जानकारी दिइन्। कानूनी दाउपेचबाट जोगिन नै उनीहरूले आफु विरूद्ध मनगढन्त आरोप लगाइरहेको उनले दाबी गरिन्।