संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पाकिस्तानले लियो अस्थायी सदस्यको पदभार

Pakistan

पाकिस्तानले सन् २०२५ को पहिलो दिनबाट संयुक्त राष्ट्र सुरक्षा परिषदको अस्थायी सदस्यका रूपमा काम शुरु गरेको छ। संयुक्त राष्ट्र संघका लागि पाकिस्तानका स्थायी प्रतिनिधि मुनिर अक्रमले संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यका रूपमा पाकिस्तानले ‘सक्रिय र सकारात्मक’ भूमिका खेल्ने बताए। उनले भने, ‘सुरक्षा परिषदमा पाकिस्तानको उपस्थिति महसुस गरिनेछ।‘ पाकिस्तानले दुई वर्षका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यको रूपमा काम गर्नेछ। १५ सदस्यीय गैर स्थायी सदस्य परिषदमा पाकिस्तानले आठौं पटक यो भूमिका खेल्नेछ। संयुक्त राष्ट्र सुरक्षा परिषदका पाँच स्थायी सदस्य राष्ट्र अमेरिका, रुस, फ्रान्स, बेलायत र चीन हुन्। यसबाहेक १० अस्थायी सदस्य राष्ट्रहरू छन्, जुन संयुक्त राष्ट्र महासभाद्वारा चुनिन्छन्। अस्थायी सदस्य राष्ट्रहरू दुई वर्षका लागि निर्वाचित हुन्छन्। संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्ष पाँच अस्थायी सदस्य राष्ट्रहरूको चयन गर्छ। संसारका विभिन्न भागहरूको प्रतिनिधित्व गर्न १० अस्थायी सदस्यहरू छानिएका छन्। अफ्रिकी र एसियाली देशका लागि पाँच सिट आरक्षित छन्। पूर्वी युरोपेली देशहरूले एक सिट पाउँछन्। दुई सिट ल्याटिन अमेरिकी र क्यारिबियन देशका लागि र एक एक सिट पश्चिमी युरोपेली र अर्को क्षेत्रका लागि छुट्याइएका छन्। सन् २०२४ को जुनमा संयुक्त राष्ट्र सुरक्षा परिषदका सदस्यहरूको चुनावमा पाकिस्तानले ठूलो समर्थन पाएको थियो। संयुक्त राष्ट्र संघको महासभाका १९३ सदस्य राष्ट्रमध्ये १८२ देशले पाकिस्तानको पक्षमा मतदान गरेका थिए। पाकिस्तानले अब एसियाली राष्ट्रहरूको प्रतिनिधिको रूपमा जापानको स्थान लिनेछ। पाकिस्तान आठौं पटक संयुक्त राष्ट्र सुरक्षा परिषदको अस्थायी सदस्य बनेको छ। यसअघि उसले सन् १९५२–५३, १९६८–६९, १९७६–७७, १९८३–८४, १९९३–९४, २००३–०४ र २०१२–१३ मा अस्थायी सदस्यका रूपमा काम गरिसकेको छ। जुन २०२४ मा पाकिस्तानसँगै डेनमार्क, ग्रीस, पनामा र सोमालिया पनि अस्थायी सदस्यका रूपमा निर्वाचित भएका थिए। यी देशहरूले क्रमशः जापान, इक्वेडर, माल्टा, मोजाम्बिक र स्विट्जरल्याण्डलाई प्रतिस्थापन गर्नेछन्, जसको कार्यकाल ३१ दिसम्बर २०२४ मा समाप्त भएको थियो। नयाँ सदस्यहरूले संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूसँग काम गर्नेछन्, जससँग भिटो शक्ति छ। यससँगै उनीहरूले गत वर्ष छनोट भएका अल्जेरिया, गुयाना, सियरा लियोन र स्लोभेनियासँग पनि काम गर्नुपर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement