अमेरिकाको न्यू अर्लिन्सस्थित बोर्बोन स्ट्रिटमा मानिसको भीड पसेको ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरूका अनुसार, बुधबार भएको सो दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने कम्तिमा ३५ जना घाइते भएका छन्। उक्त घटना अनुसन्धान गरिरहेको अमेरिकी अनुसन्धान एजेन्सी (एफबीआई) ले आरोपित चालकको तस्वीर सार्वजनिक गरेको छ। सार्वजनिक तस्वीरका व्यक्ति ४२ वर्षीय पूर्वसैनिक शमसुद्दिन जब्बार हुन्। उनी टेक्सासका बासिन्दा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। घटनालगत्तै पुलिसले हानेको गोली लागेर ट्रक चालक शमसुद्दिनको पनि मृत्यु भइसकेको जनाइएको छ। एफबीआईले मानिस किच्ने ट्रकमा चरमपन्थी संगठन आईएसको झण्डा भेटिएको बताएको छ। साथै हतियार पनि बरामद भएको छ।