१४ महिनापछि सम्पर्क पुर्स्थापित
गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्व र जङ्गु निर्वाचन क्षेत्रका विधायक एवं वन विभाग मन्त्री पिन्छो नामग्याल लेप्चाको मार्गदर्शनमा जिल्ला उपाध्यक्ष सोनम किपा भोटियाले आज नव निर्मित वेली ब्रिजको उदघाटन गरिन्। जंगुको साङकलाङस्थित टिस्टा नदीमा निर्मित यस वेली ब्रिज उदघाटन कार्यक्रममा ७२ इञ्जिनियर रेजिमेन्ट कर्णल आलोक शंकर र १०७ आरसीसीका अफिसर कमाडिङ मेजर राम लखन तेविटा, जिल्ला र ग्राम पञ्चायतहरू लगायत स्थानीयवासीहरूको पनि उपस्थिति रहेको थियो।
उल्लेखनीय छ, गत वर्षको ४ अक्टोबरमा आएको विनाशकारी बाढले अप्पर जंगुलाई जोडने एक मात्र पुल ध्वंस्त बनाएको थियो। आज उदघाटन गरिएको नवनिर्मित पुलको उँचाई १८० फिट रहेको छ भने यस पुलले २४ टनसम्मको बजन थाम्न सक्नेछ। त्रिशक्ति सेप्पर्स र सीमा सडक संगठनको संयुक्त पहलमा निर्माण गरिएको यस पुलको निर्माण कार्य हिजो समाप्त बएको थियो। उक्त पुलको निर्माण कार्य गत २६ दिसम्बरदेखि शुरू भएको र समय सीमामा नै पुलको निर्माण कार्य समाप्त भएको बताइएको छ। बर्खाको समयमा साङकलन नदीमा जलस्तरमा वृद्धि भएपछि सोही समयमा यो पुल भत्काइने जिल्ला उपाध्यक्ष सोनम किपा भोटियाले जानकारी गराइन्। उनले यस क्षेत्रको कठिन भूभाग र प्रकोप-प्रवण प्रकृतिले निम्त्याएको चुनौतीहरूबारे प्रकाश पारिन्। उनले त्रिशक्ति कोर र बीआरओलाई उनीहरूको समर्पणको लागि धन्यवाद दिँदै जङ्गु र मङ्गन बीचको सम्पर्क पुनर्स्थापित गर्न उनीहरूको अहंम भूमिका रहेको बताइन्।

यस पुलले क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ, सामानको ल्याउन र लैजान सहज हुने साथै बजारमा आवश्यक सेवाहरूमा पुऱ्याउनमा धेरै सहयोग पुग्ने छ।

स्थानीयहरूले मुख्यमन्त्री र क्षेत्र विधायक पिन्छो नामग्याल लेप्चा र यसमा संलग्न सबै अधिकारीहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्।उनीहरूको भनाइ अनुसार पुल अस्थायी रूपमा निर्माण गरिएको भए पनि, यसले स्थानीयहरूको दैनिक जीवनलाई सहज बनाउनेछ र नामसुङ महोत्सवको सफलतालाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।