गान्तोक: सिक्किम राज्यका राज्यपाल ओमप्रकाश माथुरको ७३औं जन्मदिन राजभवन परिसरमा भव्यताका साथ मनाइयो। राज्यपाललाई जन्मदिनको शुभकामना दिन राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ स्वंय यस कार्यक्रममा सहभागी बनेका थिए। कार्यक्रममा आफ्नो सम्बोधन राख्दै मुख्यमन्त्रीले समस्त सिक्किमका मानिसहरुका पक्षबाट राज्यपाललाई जन्मदिनको शुभकामना दिए। राज्यपालसँगको सहकार्यमा सिक्किमको विकासकालागि काम गर्न पाउँदा आफू धेरै हर्षित रहेको बताए। उनकै कार्यकालमा सिक्किमले आफ्नो स्थापनाकालको ५०औं स्वर्ण जयन्ती पनि पालन गर्न गइरहेकोमा उनले हर्ष प्रकट गरे।
कार्यक्रममा राजस्थानका वन एवम् पर्यावरण मन्त्री सञ्जय शर्माले पनि सम्बोधन गरेका थिए। सम्बोधनको क्रममा उनले राज्यपाल ओमप्रकाश माथुरलाई जन्मदिनको बधाई टक्राउँदै राज्यपाल माथुर एक कुशल राजनीतिज्ञ र भारतीय जनता पार्टीका कर्मठ नेता रहेको कुरा बताए। आफ्नो राजनीतिक जीवनमा राज्यपाल माथुरले धेरै पार्टीका कार्यक्रताहरुलाई अघि बढ्ने प्रेरणा साथै मार्गदर्शन प्रदान गरेको जानकारी गराए।
यस भव्यसमारोहमा सिक्किम उच्च न्यायालयका न्यायधीश मिनाक्षी मदन, न्यायधीश भास्कर राज प्रधान, सिक्किम विधान सभाका अध्यक्ष एम एन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायकगण, सल्लाहकारगण, विभिन्न विभागका अधिकारी वर्ग, विभिन्न संघ-संस्थाका प्रमुखहरु, राजस्थानका राजनीतिज्ञहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुति रहेको थियो।