कोलकाता: उत्तर बङ्गालको सीमावर्ती क्षेत्र मालदामा तृणमूल कांग्रेसका नेता बबला उर्फ दुलाल सरकारलाई उनको घरअगाडि गोली हानेको समाचार छ। घरबाट मात्र ५०० मिटरको दुरीमा रहेको नर्थ प्वाइन्ट स्कूलको अगाडि अज्ञात अपराधीहरूले चार राउण्ड गोली प्रहार गरे। तीमध्ये तीन गोली दुलाल सरकारलाई लाग्यो। गम्भीर अवस्थामा उनलाई तत्कालै मालदा मेडिकल कलेज अस्पताल पुर्याइएको थियो। मुख्यमन्त्री ममता ब्यानर्जीले नवान्नमा आयोजित प्रशासनिक बैठकमा यो गोलीकाण्डबारे चर्चा गरिन्। उनले घटनालाई लिएर पुलिसको लापरवाही भएको आरोप लगाउँदै भनिन्, “दुलालको हत्या पुलिसको लापरवाहीका कारण भएको हो। उनीप्रति पहिलेदेखि नै सुरक्षाको खतरा थियो, तर पनि उनको सुरक्षा हटाइएको थियो। पहिले पनि उनलाई मार्ने प्रयास भएको थियो। यो घटना अत्यन्तै दुःखद छ। म अहिले नै फिरहाद हकीम र सबीना यास्मिनलाई हेलिकप्टरबाट घटनास्थल पठाउनेछु। सबै व्यवस्था मिलाइसकेको छु।”
मुख्यमन्त्रीले नवान्न बैठकमा मात्र होइन, एक्समा पोस्ट लेख्दै आफ्ना निकट सहयोगी बबला सरकारको हत्या भएकोमा दुःख व्यक्त गरिन्। उनले लेखिन्, “मेरो प्रिय साथी र लोकप्रिय नेता बबला सरकारको हत्या भएको छ। बबला र उनकी पत्नी चैतालीले तृणमूलको प्रारम्भिक दिनदेखि नै पार्टीका लागि कडा मेहनत गरेका छन्। बबला पार्षदमा निर्वाचित भएका थिए। यो खबरले मलाई स्तब्ध र दुःखी बनाएको छ। अपराधीहरूलाई तत्काल पक्राउ गरियोस्।” बबला सरकार बिहीबार बिहान घरबाट आफ्नो व्यवसायतर्फ जाँदै गर्दा घटना भएको हो। जस्तै उनी आफ्नो कारबाट उत्रिए, दुई मोटरसाइकलमा आएका चार जनाले गोली प्रहार गरे। गोली चलाउनेहरूले आफ्नो अनुहार ढाकेका थिए। गोली लागेपछि उनी लडेर रगतपच्छे भए। चिकित्सकहरूले उनको शरीरबाट गोली निकाल्ने प्रयास गरे पनि बचाउन सकेनन्। उनको निधनले तृणमूल पार्टी र समर्थकहरूलाई गहिरो चोट पुगेको छ।