बङ्गलादेशका मुख्य चुनाव आयुक्त एएमएम नासिर उद्दिनले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टी ‘अवामी लिग’ले सरकारले वा न्यायपालिकाले प्रतिबन्ध नगरेसम्म चुनावमा भाग लिनसक्ने बताएका छन्। ढाका ट्रिब्यून अखबारको रिपोर्टका अनुसार, मुख्य चुनाव आयुक्त (सीईसी) ले चटगाउँ सर्किट हाउसमा चुनाव अधिकारीहरूसँगको भेटमा यस्तो बताए। नासिर उद्दिनले चुनाव आयोग पूर्ण स्वायत्तताका साथ काम गर्ने र कुनै पनि बाह्य दबाबको सामना नगर्ने आश्वासन पनि दिए। उनले भने, ‘चुनाव निष्पक्ष र पारदर्शी गराउन आवश्यक सबै कदम चाल्न हामी प्रतिबद्ध छौं।’ सीईसीले गत आम चुनावमा धाँधली भएको कुरालाई स्वीकार गर्दै मतदाता दर्तामा कमी आउनुको कारण मतदान प्रक्रियामा अविश्वास रहेको बताए। यी चिन्तालाई सम्बोधन गर्न उनले छिट्टै मतदाता नामावली अद्यावधिक गर्ने घोषणा गरे। नासिर उद्दिनले भने, ‘अबको ६ महिनाभित्र मतदाता नामावली अद्यावधिक हुनेछ। विगतको ढाँचामा यसपटक चुनाव हुन्न। ५ अगस्त यता चुनावका विषयमा राष्ट्रिय सहमति प्रवर्द्धनमा महत्वपूर्ण प्रगति भएको छ।’ बैठकमा प्रमुख चुनाव आयुक्त नासिर उद्दिनले मतदाता नामावली अद्यावधिक र आगामी राष्ट्रिय चुनावको तयारीका सम्बन्धमा चुनाव अधिकृतलाई विस्तृत निर्देशन दिएका थिए। केही दिनअघि पूर्व प्रधानमन्त्री खालिदा जियाको बङ्गलादेश नेसनलिस्ट पार्टीले अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसको न्यूनतम मतदान उमेर १७ वर्ष तोक्ने सुझावले चुनाव आयोगलाई दबाव दिने र चुनाव प्रक्रियामा ढिलाइ हुने बताएको थियो। गत वर्ष ५ अगस्तमा पूर्व प्रधानमन्त्री शेख हसिनाको सरकारको पतनपछि बङ्गलादेशमा अन्तरिम सरकार गठन भएको थियो, जसको नेतृत्व ८४ वर्षीय नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई सुम्पिएको थियो। युनुसले मतदाताको न्यूनतम उमेर १७ वर्ष पुर्याउनुपर्ने सुझाव दिएका छन्। १६ दिसम्बरमा विजय दिवसको अवसरमा आफ्नो भाषणमा मोहम्मद युनूसले बङ्गलादेशमा सन् २०२६ मा आम चुनाव हुनसक्ने संकेत गरेका थिए।