सिलगढी: मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रको आयोजनामा सम्पन्न द्विदिवसीय सद्भावना सम्मेलन आज भव्य रुपमा समापन भयो। यस वर्ष सम्मेलनमा सिक्किमका मूख्यमन्त्री प्रेमसिंह तामाङको मूख्य आतिथ्यमा ३१ दिसम्बरमा मानव धर्मका प्रणेता सतपालजी महाराज एवं मुख्यमन्त्री तामाङको करकमलबाट दीप प्रज्ज्वलनबाट शुरु भएको सम्मेलन आज खुबै भव्य रुपमा समापन भयो। आज श्री सतपालजी महाराजले विश्वमा युद्ध र विभिन्न देशहरूको राजनैतिक अस्थिरतामाथि चिन्ता व्यक्त गर्दै भने, ‘युद्ध र शीर्षस्थ शासकहरूबीचको आपसी वैमनश्यताले विश्व युद्धको स्थिति सृजना भइरहेको छ, यस्तो हुनुहुँदैन विश्वमा देखापरेको यस्तो आपसी मतभेदलाई भारतले राम्रो मध्यस्थता कायम गरेर शान्ति स्थापित गर्नसक्छ। हामी अध्यात्मको प्रचारद्वारा मानव मानवबीच ईश्वरीय सत्ताको वास रहेको कुरा गरिरहेछौंl हाम्रो सनातन परम्परामा विश्वको कल्याणको कामना गरिएको छ, सारा विश्वका मानिसहरू सुखी होउन् हाम्रा पूर्वजहरूले हामीलाई यही कुरो सिकाएका छन्।’

मुख्यमन्त्री प्रेमसिंह तामाङले सतपालजी महाराजले देश मात्र होइन सारा विश्वमा प्रेम, शान्ति र सद्भावनाको सन्देश दिइरहेको कुरोको प्रशंसा गर्दै सिक्किम सरकारले भर्खरै पाक्योङमा सिक्किम सरकारको पहलमा सुन्दर मानव धर्म मन्दिर निर्माण गरेर संस्थालाई हस्तान्तर गरिसकेको बताएl भविष्यमा आध्यात्मिक गुरु सतपाल महाराजको दुई दिने भव्य सदभावना सम्मेलन आयोजन गर्ने इच्छा प्रकट गरे। यता सतपाल महाराजले पनि सिक्किमका मुख्यमन्त्रीको सौहार्दपूर्ण सहयोगप्रति आभार प्रकट गर्दै भविष्यमा सिक्किमले उत्तरोत्तर प्रगति गर्दै लैजाने शुभकामना दिए। कार्यक्रममा रीवा महाराज पुष्पराज सिँह, सांसद राजु बिष्ट, सिक्किम क्रिकेट एसोसिएसनका अध्यक्ष टीका शर्मा दोस्रो दिनको कार्यक्रममा बिहानैदेखि श्री सतपालजी महाराजका नाति श्री विभुजी महाराज अनि माता आराध्याजीका सुपुत्र श्रेयांशजीको जन्मदिनमा ब्राह्मण पुरोहितद्वारा अष्टचीरञ्जीविको पूजा हवन आदि पछि परिवारको पक्षबाट सबैले आशीर्वाद दिएपछि उपस्थित भक्त समुदायले पनि उपहारहरू प्रदान गरे।
दोस्रो दिन पनि देश विदेशबाट आएका हजारौं भक्तहरूले श्री सतपालजी महाराज, मातन अमृताजी, श्री विभुजी महाराज, माता आराध्याजी, श्री सुयशजी महाराज माता मोहिनाजी आदिको दर्शन सत्संग प्रबचनको लाभ प्राप्त गरे। हरिद्वारबाट आएका प्रमुख सन्त महात्माहरूमा विशेष रुपले महात्मा हरिसन्तोषानन्द, नेपालबाट महात्मा चमेली बाईजी जस्ता आत्मअनुभवी र दिग्गज सन्तहरू अनि अन्य धेरै सन्त महात्माहरूको सत्संग प्रवचनले कार्यक्रमको माहौल भक्तिमय बनेको थियो। संगीतकार विमल राईको नेतृत्वमा भक्ति संगीतका उत्कृष्ट कलाकारहरूले नपाली, हिन्दी, शाद्री ,बङ्गला, भुटानी भाषारूमा सुन्दर सुन्दर भजनहरू साथै बाल कलाकारहरूले विभिन्न भाषामा सङ्गीतमय नाटक र नृत्यहरू प्रस्तुत गरेका थिए। गायक देवेन्द्र कार्की, अश्विन राई, रोमेन सुब्बा, सपना राई, सुनपता राई, वर्षा सिंहका सुमधुर भजनहरूले श्रोताहरूलाई मन्त्रमुग्ध पारेको थियो। कार्यक्रमको पहिलो दिन मानव उत्थान सवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रको पक्षबाट मुख्यमन्त्री प्रेमसिंह तामाङलाई विपूल मतले विजयी भएर दोस्रोपल्ट सिक्किमका मुख्यमन्त्री भएकोमा बधाई साथै अभिनन्दन ज्ञापन गर्दै श्री सतपालजी महाराजको बाहुलीबाट प्रशस्ती पत्र अनि श्री विभूजी महाराज र सुयशजी महाराजको करकमलबाट उपहार र पुष्पगुच्छा पनि भेंट गरियो। दोस्रो दिन परेडमा उत्कृष्ट प्रदर्शन गर्ने मानव सेवा दलको डुवर्स मण्डलाई प्रथम, सिक्किम मण्डललाई दोस्रो दार्जीलिङ मण्डललाई तेस्रो पुरस्कार प्रदान गरियो। गत तिहारको पर्वमा उत्तर पूर्वाञ्चल क्षेत्रका विभिन्न स्तरमा खेलिएका देउसी भैलो कार्यक्रममा उत्कृष्ट देउसे भैलो दललाई पनि पुरस्कृत गरियो।