खरसाङमा अग्रणी भाषासेवक पारसमणि प्रधानको १२७औँ जन्म जयन्ती पालन

IMG-20250101-WA0538

खरसाङ: खरसाङमा अग्रणी भाषासेवक पारसमणि प्रधानको १२७औँ जन्म जयन्ती पालन गरिएको छ।
पहिलो जनवरीको दिन नेपाली भाषाका अग्रणी सेवक पारसमणि प्रधानको १२७औँ जन्म जयन्ती गोर्खा जन पुस्तकालय, खरसाङद्वारा स्थानीय गोर्खा जातीय विभूति उद्यानमा पुस्तकालयका अध्यक्ष रवीनकुमार प्रधानको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको छ।‌ कार्यक्रममा वरिष्ठ समाजसेवी तिलक शर्मा, वरिष्ठ साहित्यकार जीबी बल, वरिष्ठ नाट्य कलाकार विनोदप्रकाश शर्मा, साहित्य अकादेमी नेपाली भाषा परामर्श समितिका सदस्या आशा मुखिया लामा, उपाध्यक्ष प्रकाश प्रधान,मूल सचिव विनोद रसाइली, कार्यकारी सदस्य प्रितम छेत्री, सजीत खाइबा, वरिष्ठ आजीवन सदस्य पारस लामा, गौतम प्रधान अनि एक बङ्गाली पर्यटक उमा चक्रवर्तीको विशेष उपस्थिति रहेको थियो। गोर्खा जनपुस्तकालय खरसाङको मूल सचिव विनोद रसाइलीद्वारा सञ्चालित यस कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत जनाउँदै नयाँ २०२५-को मङ्गलमय शुभकामना व्यक्त गरियो अनि पारसमणि प्रधानको मूर्तिमा अध्यक्ष अनि उपस्थित विशिष्ट अतिथिहरूद्वारा धुप-दीपसहित पुष्प माला र खदार्पण गरे श्रद्धाञ्जली अर्पण गरियो। आफ्नो स्वागत सम्बोधनमा सचिव विनोद रसाइलीले पारसमणि प्रधानको योगदान र व्यक्तित्वबारे सविस्तार जानकारी गराए। उनले भने- आफूले हिन्दी माध्यममा शिक्षा ग्रहण गरे तापनि दिनाङ्क1 जनवरी १८९८ मा जन्म ग्रहण गर्ने पारसमणि प्रधान नेपाली भाषा साहित्यका निम्ति कुनै कम थिएनन्। १७ वर्षको उमेरमा तिनले बङंकिमचन्द्र चट्टोपाध्यायको उपन्यास हिरण्यमयी अनुवाद गरे, बीस वर्षको उमेरमा सन् १९१८-मा खरसाङबाट चन्द्रिका पत्रिका प्रकाशन गरे। नेपाली भाषामा पठन-पाठनको त्यसताक पुस्तकहरू उपलब्ध थिएन। उनी आफै अग्रसर भएर पाठ्य पुस्तकहरू लेखे, ब्याकरणहरू लेखे, शब्दकोशहरू लेखे अनि माध्यमिक स्तरदेखि विश्वविद्यालयसम्म नेपाली भाषामा शिक्षाको निम्ति संघर्ष गरे जसको फलस्वरुप आज हामीले आफ्नो मातृभाषामा शिक्षा ग्रहण गर्न सकेका हौँ।उनले नेपाली भाषालाई साहित्य अकादेमी नयाँ दिल्लीबाट मान्यता दिलाउन भगीरथ प्रयास गरे अनि सन् १९७५- मा उनको टिमले यो सफलता हाँसिल गर्नसकेको हो। सन् १९१८ मा उनी खरसाङ छँदा गोर्खा जन पुस्तकालयको सह सचिव पदमा आसीन रहँदा नै चन्द्रिका पत्रिका प्रकाशन गरेको कुरो र पछि धरणीधर शर्मा र सूर्यविक्रम ज्ञावलीसँग मिलेर सन् 1924-मा दार्जीलिङमा नेपाली साहित्य सम्मेलन स्थापित गरेको कुरो सचिवले आफ्नो स्वागत वक्तव्यको क्रममा राखे।
कार्यक्रम ठण्डा महिना र नयाँ वर्षको व्यस्ततालाई ध्यानमा राखेर छरितो बनाइएको थियो।जीबी. बल, तिलक शर्मा, विनोद प्रकाश शर्मा, आशा मुखिया लामाले पारसमणि प्रधानसँग रहेको आफ्नो भेटघाट र त्यस समयसँग जोड़िएका संस्मरण र केही सुझावहरू आफ्नो वक्तव्यमा राखेका थिए। अन्त्यमा अध्यक्ष रवीनकुमार प्रधानले पारसमणि प्रधानसँग भएको आफ्नो भेट र त्यो दिनको सम्झना गरे। अध्यक्षीय सम्बोधनमा प्रधानले उपस्थित सम्पूर्णलाई धन्यवाद अनि कृतज्ञता व्यक्त गरे। कार्यक्रमको समापनपछि नयाँ वर्ष 2025-लाई न्यानो स्वागत जनाउँदै केक काटेर सबैलाई बाँड़िएको थियो अनि सबैप्रति सुख, शान्ति र समृद्धिको कामना गरिएको जानकारी प्राप्त भएको छ। कार्यक्रमको अन्त्यमा पूर्व राज्यसभा सांसद शान्ता छेत्री र केही शुभचिन्तकहरू उद्यानमा उपस्थित भए अनि स्थापित सबै विभूतिहरूका प्रतिकृति अघि खदार्पण गरेर श्रद्धासुमन अर्पण गरे अनि एकार्कामाझ नयाँ वर्षको शुभकामना आदान-प्रदान गरेको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement