खरसाङ: अगमसिंह गिरी संस्थान सलुवाद्वारा प्रकाशित गरिने परदेशी पत्रिकाको आगामी अङ्क वरिष्ठ साहित्यकार नरबहादुर दाहाल अभिनन्दन विशेषाङ्कको रुपमा प्रकाशित गरिएको छ। उक्त प्रकाशित अभिनन्दन विशेषाङ्कको विमोचन आगामी ४ सेप्टेम्बर आइतबारको दिन सुकुना उच्चतर माध्यमिक विद्यालयमा अगमसिंह गिरी संस्थान, सुकुना साहित्यिक सांस्कृतिक संस्थान र नरबहादुर दाहाल अभिनन्दन विशेषाङ्क विमोचन समारोह समितिको संयुक्त आयोजनामा वरिष्ठ साहित्यकार कृष्णसिंह मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न गर्ने निश्चय भएको छ। उक्त दिन उक्त विशेषाङ्कको विमोचनसंगै अगमसिंह गिरी संस्थानको तर्फबाट वरिष्ठ साहित्य नरबहादुर दाहाललाई अगमसिंह स्मृति सम्मानसंगै भाषा, साहित्य, सामाजिक, सांगीतिक र पत्रकारिताको क्षेत्रमा योगदान दिदैँ आईरहेकी दश जना नारी प्रतिभाहरूलाई पनि सम्मान गरिने भएको छ। सम्मानमा शान्ति ठटाल( गायिका/ संगीतकार), मेनुका प्रधान (नाट्यकर्मी), सुभद्रा बमजन( साहित्य), रङ्गु सौरिया( सामाजिक कार्यकर्ता), सविता सङ्कल्प( पत्रकारिता), शान्ति राई( सामाजिक कार्यकर्ता), दीपा राई( चित्रकारिता), देविका मोक्तान (साहित्य/ समाज), मातृका गजमेर( साहित्य) र उर्मिला घिसिङ( साहित्य)लाई पनि सम्मान जनाइनेछ। उक्त समारोहको तयारीको लागि अगमसिंह गिरी संस्थान, सुकुना साहित्यिक सांस्कृतिक संस्थान र नरबहादुर दाहाल अभिनन्दन विशेषाङ्क विमोचन समारोह समितिले संयुक्त रुपमा आफ्ना कामहरू अघि बढाईसकेका छन्। वर्तमान तक्निकी सुविधालाई र समयलाई पनि ध्यानमा राख्दै उक्त समारोहको निमन्त्रणाको लागि प्रायः सबैलाई ई निम्तो नै पठाई सकिएको छ। निमन्त्रणा पाई सक्नु हुने अथवा निमन्त्रणा पठाउन छुटेका सबैलाई साथै परदेशीको उक्त ‘नरबहादुर दाहाल अभिनन्दन विशेषाङ्क’मा आफ्ना लेखहरू दिई सहयोग गर्ने सबै लेखक- लेखिकाहरू लगायत भाषा साहित्य प्रेमीहरू सबैलाई उक्त विमोचन समारोहमा उपस्थित भईदिने अगमसिंह गिरी संस्थानका सचिव विकास कार्कीले निवेदन गरेका छन्। समारोहमा नरबहादुर दाहालको व्यक्तित्व- कृतित्व बारेमा ज्ञान सुतारले र प्रकाशित अभिनन्दन विशेषाङ्कको समीक्षात्मक टिप्पणी ज्ञानेन्द्र खतिवडाले प्रस्तुत गर्नेछन्।










