बर्मेक रोङ ओङ सेजुम’ले पालन गऱ्यो नाम् अल नाम्सुङ

IMG-20241231-WA0345

एसकेएम सरकारले सबै धर्म र जातिलाई मान्यता दिएको छः विधायक शर्मा

गान्तोक: ‘बर्मेक रोङ ओङ सेजुम’ले जातीय तथा सांस्कृतिक महत्त्वका साथ नाम् अल नाम्सुङ पालन गरेको छ। विशेष समारोहकासाथ आयोजना गरिएको लेप्चा जातिको यस पर्वका उपलक्ष्यमा समष्टि विधायक लोकनाथ शर्मा मुख्य अतिथिका रूपमा उपस्थित थिए। साथमा, एसपी सोरेङ जिल्ला नहकुल प्रधान, सिक्किम दुग्ध सङ्घका अध्यक्ष याम कुमार मिश्रलगायत अन्य अतिथिहरू साथै स्थानीय गाउँलेको उपस्थिति रहेको थियो।
लेप्चा जातिद्वारा पूर्वकालदेखि पालन गरिँदै आएको यो पर्वलाई बर्मेकको रोङ ओङले पारम्परिक रुपमा पालन गरेर आफ्नो संस्कृति र परम्परालाई जीवन्त राख्ने प्रयास गरेको छ। कार्यक्रममा लेप्चा जातिको पारम्परिक खानपान, लोक परम्परा तथा अन्य कुराहरूलाई समेटिएको थियो। समारोहमा मुख्य तथा विशिष्ट अतिथिहरूको आगमनमा पारम्परिक स्वागत गरिएको थियो। पछि, प्रदर्शनीमा राखिएका चीजबीज तथा लेप्चा लोक संस्कृतिका कुराहरूलाई अतिथिगणले अवलोकन गरे।
पछि, कार्यक्रमलाई सम्बोधन गर्दै विधायक शर्माले अत्यन्तै महत्वले भरिएको नाम्सुङ पर्व आयोजना गरिएकोमा गर्वबोध गर्दै आयोजक समितिलाई बधाई र धन्यवाद दिए। उनले नाम्सुङलाई अन्न, फलफूल आदि ईश्वरलाई चढ़ाएर प्रकृति पूजा गर्ने दिनका रूपमा औँल्याए। सिक्किममा अहिले मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा सबै जातिको पर्वलाई राज्य स्तरीय रूपमा पालन गरिँदै आएको बताए। “सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले हरेक धर्म र जातिलाई मान्यता दिएको छ”, उनले भने। उनले सबै जातिले आआफ्नो भाषा बोल्न सिक्नुपर्छ भन्दै भाषाले सभ्यता ल्याउने विचारका साथ आफ्नो भाषाको जगेड़ा गर्नुपर्ने कुरामा जोर दिए। उनले प्रसङ्ग फेर्दै गेजिङ बर्मेक समष्टिमा हालसम्म भएका पूर्वाधार विकासका कामहरूलाई पनि प्रकाश पारे।
यसका साथै विधायक शर्माले आगामी दिनहरूमा गेजिङ बर्मेक समष्टिमा धेरै काम गर्ने योजना रहेको बताए। यसपालिको एसपीएससी परीक्षामा गेजिङ बर्मेक समष्टिबाट तीनजनाले उत्तीर्ण गरेकोमा खुशी प्रकट गर्दै सरकारले पारदर्शी रूपमा अन्तर्वार्ता राखेको कारण गरीब वर्गमा रहेकाहरूले पनि यसमा मौका पाएको विधायकको भनाइ थियो। उनले भारत सरकारको विभिन्न शाखामा निकालिएको अन्तर्वार्तामा भाग लिन प्रोत्साहित गर्दै यसका लागि आगामी दिनमा समष्टिमा वृहत ऱ्याली निकालेर शिक्षित बेरोजगारहरूलाई जाग्रुक गराउँदै सूचित गराइने मन्तव्य गरे। यसका लागि सबैले साथ दिएर सहयोग गर्न समेत आह्वान गरे।
समारोहमा बर्मेक लेप्चा युथ एसोसिएसनको तर्फबाट मुख्य अतिथिलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो भने आयोजक समितिले नाम्सुङ उत्सवका सल्लाहकार तथा रुङदू सरकारी पाठशालाका प्रधानाध्यापक फुर्दुप लेप्चालाई पनि अभिनन्दन जनाएको थियो। समारोहमा विद्यार्थीबाट कविता वाचनसँगै विभिन्न रङ्गारङ सांस्कृतिक प्रस्तुतिको पनि प्रदर्शनी गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement