दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। सियोलको एक जिल्ला अदालतले निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ। उच्च पदस्थ अधिकारिको छानबिनका लागि रहेको भ्रष्टाचार अनुसन्धान कार्यालयको आग्रहमा अदालतले निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। स्थानीय सञ्चारमाध्यम योनहापका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी गरिएको यो पहिलो पटक हो। गत ३ दिसम्बरमा अप्रत्याशित रुपमा राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति योलले छोटो अवधिको मार्शल ल घोषणा गरेका थिए। त्यसको विरोधपछि आफूले गरेको उक्त घोषणा फिर्ता लिएका थिए। विपक्षीले दोस्रो पटक संसदमा राष्ट्रपतिको कदमविरुद्ध ल्याएको महाभियोगको प्रस्तावमा सत्ता पक्षको समर्थनमा पारित भएपछि राष्ट्रपति योल निलम्बित भएका थिए। उनको मुद्दा संवैधानिक अदालतमा विचाराधीन छ। उनले चालेका कदमका विषयमा छानबिन गर्न र सोधपुछका लागि अदालतमा उपस्थित हुन भने पनि तीन पटकसम्म राष्ट्रपति नगएपछि अनुसन्धानमा बाधा पुगेको भन्दै छानबिनको दायरामा ल्याइ अनुसन्धान गर्न भ्रष्टाचार अनुसन्धान कार्यालयले अदालतलाई पक्राउ पुर्जी जारी गर्न आग्रह गरेको थियो। राष्ट्रपतिले आफ्नो कार्यालयमा पुलिसलाई छापा मार्न समेत नदिएपछि भ्रष्टाचार कार्यालयले यो कदम उठाएको बताइएको छ।