सोनादा: सोनादादेखि केही मुनि रहेको मुण्डाकोठी चियाबारी हाई स्कूलमा सम्बर्ध्दना कार्यक्रम साथै बिदाई समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रम स्कूलकी प्रधान अध्यापिका सुधा राईको अध्यक्षता र प्रकाश देवानको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा स्कूलको पूर्व प्रधान अध्यापक आरके प्रधान, पञ्चायत सचिव सुरज मोथे लगायत अन्यहरू उपस्थित रहेका थिए। सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूद्वारा धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा स्वागत सम्भाषण शान्ती राईले राखेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले कविता वाचन, गीत, नृत्य, नाटक प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि प्रकाश देवान, प्रकाश राई, आरके प्रधान, सागर देवान, सविता गुरुङ, सैलेन राई आदिले वक्तव्य राखेका थिए। यसै कार्यक्रममा तर्क प्रतियोगितामा स्कूलदेखि बाहिर गएर दोस्रो र तेस्रो भएकोमा सुमिरन बरदेवा, कृति छेत्रीलाई स्कूलको पक्षबाट सम्मान जनाइएको छ। त्यसरी नै मुण्डाकोठी हाई स्कूलको पूर्व प्रधान अध्यापक प्रकाश देवानलाई बिदाईसहित सम्बर्ध्दना जनाइएको छ। उनी गत मार्च महिनासम्म आफ्नो सेवा दिएर अप्रेल महिनादेखि अवकाश ग्रहण गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन सीबी मुखियाले राखेका थिए भने सभाध्यक्ष एंव स्कूलकी प्रधान अध्यापिका सुधा राईले सम्भाषण राखेर कार्यक्रम समाप्त गरिएको थियो।

कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै मुण्डाकोठी हाई स्कूलकी प्रधान अध्यापिका सुधा राईले आज हाम्रो स्कूलको बिदाई तथा सम्बर्ध्दना कार्यक्रम सम्पन्न भएको बताउँदै यसमा स्कूलको पूर्व प्रधान अध्यापक प्रकाश देवानलाई बिदाई साथै सम्बर्ध्दना जनाइएको जानकारी गराएकी छन्। उनले केही समय अघि पचेङमा भएको तर्क प्रतियोगितामा दुईजना नानीहरूले दोस्रो र तेस्रो भएकोमा स्कूलको पक्षबाट सम्मान जनाएको बताइन्।










