‘एक्टर: टेक वन’का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक

IMG_2741

काठमाडौं: आगामी २९ जनवरी २०२५ (माघ १६ गते) रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक गरिएको छ। चलचित्रको नयाँ ब्रान्डिङको योजना स्वरूप प्रचार सामग्रीको रूपमा यी पोस्टरहरू सार्वजनिक गरिएको निर्देशक राजन भुसालले बताए। एक पोस्टरमा प्रमुख कलाकारहरू प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी र, राजबल्लभ कोइरालालाई राखिएको छ भने अर्को पोस्टरमा अभिनेता द्वय खड्का र कोइरालालाई मात्र प्रस्तुत गरिएको छ । विजय बस्यालले डिजाइन गरेका यी पोस्टरले चलचित्रको कथा र चरित्रहरूलाई प्रभावकारी रूपमा चित्रण गर्न प्रयास गरेका छन्। एक पोस्टरले भावनात्मक सम्बन्ध र कथा सम्बन्धित पात्रहरूलाई केन्द्रमा राखेको छ भने दोस्रो पोस्टरले चलचित्रको ‘थ्रिलिङ’ भागलाई उजागर गरेको छ। पोस्टरको शीर्ष भागमा रहेका अभिनेता प्रदिप खड्का चलचित्रको मुख्य केन्द्रबिन्दु रहेको प्रस्ट हुन्छ। मुख्य पात्रको चोट लागेको अनुहारले यस चलचित्रको कथाको चुनौतीपूर्ण पक्षलाई सङ्केत गर्छ र सिगार समातेको कोइरालाको चरित्रले कथामा शक्तिको खेल रहेको सङ्केत गर्छ। यस अघि यो चलचित्रको टिजरमा सुपरस्टार प्रदिप खड्काका विभिन्न चरित्रहरूको झलक देखाइएको थियो।

यस चलचित्रबाट अभिनेता कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किँदैछन्। दिव्या रायमाझीले यही चलचित्रबाट आफ्नो अभिनय यात्रा शुरु गरेकी छन्, जहाँ उनलाई ‘बोल्ड एण्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको छ। दिव्या, चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन्, र उनी अमेरिकाबाट नेपाल फर्केर यो चलचित्रमा अभिनय गर्न थालेकी हुन्। यस चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्। यस चलचित्रमा प्रदीप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। अदृत फिल्म्स् र मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी र सह-निर्माता अनीश भुसाल रहेका छन्। चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्। सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन्, र कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन्। पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन्। यस चलचित्रमा द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement