दक्षिण दिनाजपुर: वर्षको अन्तिम दिन दक्षिण दिनाजपुर जिल्ला पुलिसको पहलमा म्याराथन प्रतियोगिता आयोजना गरिएको छ। ‘रन फर अवेयरनेस सेफ ड्राइभ सेभ लाइफ’ नाममा आयोजना गरिएको यस प्रतियोगितामा आधारित म्याराथन दौडको मुख्य उद्देश्य मानिसमा ट्राफिक नियमबारे जनचेतना जगाउने र दुर्घटना न्यूनीकरण गरी मानिसको ज्यान जोगाउने थियो। यस दौडमा दक्षिण दिनाजपुर जिल्लापाल बिजिन कृष्ण, दक्षिण दिनाजपुर जिल्ला पुलिस उपरीक्षक चिन्मय मित्तल र अन्य पुलिस अधिकारीहरू उपस्थित थिए। बालुरघाट रंगशालाबाट पूरै सहरको परिक्रमा गरेपछि यो म्याराथन दौड फेरि बालुरघाट रंगशालामा समापन भएको हो। महिला र पुरुष गरी दुई विधामा १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भयो। उक्त दौडमा जिल्लाका हजारौं युवा युवतीहरुको सहभागिता रहेको थियो।