लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा चेल्सी र म्यानचेष्टर युनाइटेडले फेरि हारको सामना गर्नु पऱ्यो। सोमवार राति खेलिएको म्याचमा चेल्सीले इप्सविच टाउनविरुद्ध ०-२-ले हारको सामना गर्नु पऱ्यो। केही हप्ता अघिसम्म शीर्ष स्थानको होड़मा रहने चेल्सीको यो लगातार दोस्रो हार हो। यस अवे म्याचमा ७६ प्रतिशत पोजेशनको साथ खेल्दै चेल्सीले लगातार आक्रमण गरे पनि गोल गर्न सकेन। म्याचमा इप्सविच टाउनबाट लियम डेलापले १२औं (पेनल्टी) र ओमारी हचिसनले ५३औं मिनटमा गोल गरे। यस हारपछि चेल्सी १९ वटा म्याचमा ३५ पोइण्ट्सको साथ प्रीमियर लीग टेबलको चौथो स्थानमा कायम रह्यो। यसरी इप्सविच टाउन १५ पोइण्ट्सको साथ १८औं स्थानमा रहेको छ। म्यानचेष्टर युनाइटेडले पनि न्यूक्यासलविरुद्ध ०-२-ले नै निराशाजनक हारको सामना गर्नु पऱ्यो।आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने युनाइटेडले न्यूक्यासलबाट शुरुदेखि नै कड़ा चुनौतीको सामना गर्नु पऱ्यो। विजेता टीमबाट एलेक्जेण्डर इसाकले चौथो अनि जोएलिण्टनले १९औं मिनटमा गोल गरे। यस जीतपछि न्यूक्यासल १९ वटा म्याचमा ३२ पोइण्ट्सको साथ पाँचौं स्थानमा रहन पुग्यो। यसरी सीजनको नवौं हारको साथ म्यानचेष्टर युनाइटेड चाहिँ झरेर १४औं स्थानमा पुग्यो। प्रीमियर लीगमा एस्टन भिल्ला र ब्राइटनबीच खेलिएको म्याच चाहिँ २-२-ले ड्र रह्यो।