इटहरी: सुनसरीको इटहरीमा बम राखिएको सूचना सहित इटहरी र पकली प्रहरीमा एकैसाथ म्यासेज आयो। एकैसाथ म्यासेज आएपछि प्रहरीले सावधानी अपनायो। तत्कालै नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर ग¥यो।
इलाका प्रहरी कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय पकलीमा एकैसाथ एकै प्रकृतिको म्यासेज आएको प्रहरीको भनाइ छ। इटहरी उपमहानगरपालिका कार्यालयको गेट नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बूढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै बम राखिएको भन्दै परेको प्रहरीलाई सूचना आएको सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाले जानकारी दिए।
अहिले ती स्थानमा नेपाली सेनाको काली शक्ति गणबाट आएको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको छ। ‘अब आन्दोलन सुरू भयो भन्ने किसिमको म्यासेज आएको थियो,’ एक प्रहरी अधिकृतले प्रदेश खबरसँग भने, ‘अरूतिर सहजै भेटिएपनि बूढीखोला नजिकै राखेको बम भने फेला पार्न नसकिने भन्दै प्रहरीमा म्यासेज आएको छ।’
ती प्रहरीकाअनुसार जसले बमजस्तो देखिने शंकास्पद वस्तु राखे, उनैले प्रहरीलाई खबर गरेको हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको छ। इटहरी उपमहानगरअघि राखेको शंकास्पद वस्तु भने कुकुर रहेको सेनाले जनाएको छ।
उक्त कुकुरभित्र भने राष्ट्रिय सुरक्षा दल भनेर लेखिएको पर्चा भेटिएको छ। ‘कुकरभित्र राष्ट्रिय सुरक्षा दल भनेर लेखिएको पर्चा फेला परेको छ,’ ती प्रहरी अधिकृतले भने, ‘अर्को ठाउँमा पनि डिस्पोज गर्ने तयारी हुँदैछ।’ बूढीखोलामा भने बोरामा कपडाजस्तो देखिनेगरी राखिएको छ। सेनाले त्यहाँ पनि डिस्पोज गर्ने तयारी गरिरहेको छ। ‘सेनाले त्यहाँको पनि डिस्पोज गर्ने तयारी गरिरहेको छ,’ घटनास्थलमा भेटिएका ती प्रहरी अधिकृतले भने, ‘बूढीखोलाको बम भने भेट्दैनौ भनेर प्रहरीलाई म्यासेज आएको छ, हामीले अनुसन्धान गरिरहेका छौँ।’
प्रहरीले अहिले विभिन्न कोणबाट अनुसन्धानसमेत सुरू गरेको छ। सीसी क्यामेराको फुटेज हेरेर पनि अनुसन्धान गर्ने तयारी रहेको प्रहरीको भनाइ छ।