गान्तोक: सिटिजन एक्सन पार्टी, सिक्किमले तमु लोछार र नाम्सुङ पर्वको अवसरमा तमु (गुरुङ) र लेप्चा समुदायलगायत सम्पूर्ण सिक्किमवासीलाई शुभकामना व्यक्त गरेको छ। पार्टीले आज एक प्रेस बयान जारी गर्दै तमु लोछार नयाँ वर्षको शुरुवातसँगै प्रकृति र परम्पराप्रति श्रद्धा प्रकट गर्ने तथा सहिष्णुता र सामाजिक एकताको सन्देश फैलाउने महान् पर्व रहेको ठहर गरेको छ। यसले तमु समुदायको मौलिकता, संस्कृति र सभ्यताको जगेड़ा गर्दै नयाँ पुस्तालाई यी अमूल्य परम्पराहरू हस्तान्तरण गर्न प्रेरित गर्ने उल्लेख गरेको छ। त्यसैगरी, नाम्सुङ पर्वलेप्चा समुदायको मौलिक पहिचान र सांस्कृतिक गौरवको प्रतीकलाई चिनाउँदै यो पर्वले प्रकृति, मानवता र सामुदायिक सहअस्तित्वको महत्त्वलाई उजागर गर्दै हाम्रो विविधतायुक्त समाजलाई थप समृद्ध बनाउने प्रेरणा दिने उल्लेख पार्टीले सन्देशमा गरेको छ। सिटिजन एक्सन पार्टी सधैं सबै समुदायको परम्परा, संस्कृति र भाषा संरक्षणका लागि प्रतिबद्ध रहँदै आएको बताउँदै सिक्किमको समृद्ध भविष्य हाम्रो सामुहिक एकता, सहकार्य र सम्मानमा निहित भएको जिकिर गरेको छ। तमु लोछार र नाम्सुङ पर्वले सिक्किमवासीबीच सहिष्णुता, प्रेम र समृद्धिको भावना थप प्रगाढ बनाउने विश्वास राख्छौं भनी बताउँदै सबैलाई आ-आफ्ना परम्परा, संस्कृति र चाडपर्वलाई बचाउन, सम्मान गर्न र यसको महत्वलाई जीवन्त राख्न आह्वान गरेको छ।










