कोरोनाको त्रास पहिलेको तुलनामा कम भएको भए पनि चीनमा भने अझै कायमै छ। चीन सरकारले बिहीबार एक प्रमुख शहरमा पूर्ण लकडाउन गरेको छ। करिब २१ लाख जनसंख्या भएको शहर चेङ्दुमा कोरोनाका बढ्दो केसलाई ध्यानमा राखेर यो कडा कदम चालिएको हो। सरकारले चार दिन लकडाउन गरेर न्यूक्लिक एसिड परीक्षण गर्ने जनाएको छ। सांघाईमा एक महिनाको लागि यस्तै लकडाउन लगाइएको थियो।
चेङ्दु दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी र ठूलो शहर हो। बुधबार यहाँ १०६ जनामा कोरोनाका नयाँ केसहरू देखा परेका थिए, जसमध्ये ५१ जनामा लक्षण नै थिएन। शहरमा ३ सय ८१ उच्च जोखिम क्षेत्र पहिचान गरिएको छ। ग्लोबल टाइम्सको रिपोर्टअनुसार लकडाउनको समयमा परिवारका सदस्य दिनमा एक पटक मात्र बाहिर निस्कन पाउँछन्। तर, उनको न्यूक्लिक परीक्षणको रिपोर्ट पनि नेगेटिभ हुनुपर्छ। सरकारले चार दिनको लकडाउन घोषणा गरे पनि चार दिनपछि बन्दाबन्दी फुकुवा हुन्छ कि हुँदैन भन्ने टुंगो लागेको छैन। ग्लोबल टाइम्सले आफ्नो रिपोर्टमा यहाँको अवस्था निकै गम्भीर रहेको बताएको छ। महामारी निकै तीव्र गतिमा फैलिरहेको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार एयरलाइन्सलाई चेङ्दुबाट पनि निलम्बन गरिएको छ। फ्लाइट मास्टरको तथ्यांकअनुसार बिहान १० बजेसम्म ३९८ उडान रद्द भएका छन्। अन्य विमानस्थलमा पनि धेरै उडान रद्द भएका छन्। चीनमा छेङ्दुमा मात्रै नभई अन्य धेरै ठाउँमा पनि लकडाउन लगाइएको छ। शेन्जेन र ग्वान्झाउमा पनि प्रतिबन्धहरू लागू गरिएको छ। ओमिक्रोन तीव्र गतिमा फैलिँदा औद्योगिक गतिविधि प्रभावित भएको व्यवसायी संस्थाको भनाइ छ। खासगरी उत्पादनमूलक क्षेत्रले धेरै नोक्सान भोगेको छ।