आकाशवाणीलाई मुटुमा राखेर काम गर्ने सबैमा सल्लाह छ: पारसचन्द्र आले
खरसाङ: आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेको बिदाई तथा सम्मान समारोह सम्पन्न भएको छ। आकाशवाणी खरसाङको मनोरञ्जन क्लबको आयोजनामा आकाशवाणी खरसाङ परिसरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा पारसचन्द्र आलेलाई नै राखिएको थियो। उदघोषक विश्व सुब्बा र उदघोषिका अदिती मोक्तानले सञ्चालन गरेको कार्यक्रममा आकाशवाणी खरसाङको विभिन्न विभागहरूबाट गीत, नृत्य, कविता आदि प्रस्तुत गरिएको थियो। यस क्रममा शोभना प्रधान, प्रशान्त छेत्री, बिपन आले, देवेन थापा, सञ्जय रावत, उषाकिरण सत्यदर्शी आदिले गीत प्रस्तुत गरेका थिए भने स्मिता सार्की र करुणा सिंहद्वारा एकल नृत्य, पाश्चात्य विभागबाट समूह नूत्य, रेबिना सुब्बा र सरु लामा अनि सबिना गिरी र सिल्भेष्टर लेप्चाद्वारा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा कवि हनोक थापा, बिनिता लामा बोस, झुना निरौला, नामगेल तामाङ, पासाङ लक्की शेर्पा आदिले कविता, गजल, मुक्तक वाचन गरेका थिए। कार्यक्रममा एपीपी समूहद्वारा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेको जीवनमा आधारित नाटक पनि प्रस्तुत गरेका थिए। यस नाटकलाई रामकृष्ण शर्माको लेखन तथा निर्देशनमा प्रस्तुत गरिएको थियो। यसै कार्यक्रममा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेलाई खदार्पणसहित सम्बर्ध्दना पत्र, स्मृति चिन्ह, जातीय टोपी र शल ओढाएर सम्मान जनाइएको छ भने उपहारहरु पनि प्रदान गरिएको छ। उनी लगायत उनकी पत्नी शशि आलेलाई पनि सम्मान जनाइएको छ। यसको साथै आकाशवाणी खरसाङको विभिन्न विभागहरूबाट पनि सम्मान जनाइएको थियो। आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेको बिदाई तथा सम्मान समारोहमा साहित्यकार एंव कलाकारहरु उपस्थित भएर सम्मान जनाएका थिए। यस क्रममा कवि तथा गीतकार वेग वसन्त थापा, शिक्षक अभिषेक छेत्री र वरिष्ठ साहित्यकार एंव प्रकाशक मिलन बान्तावा आदि उपस्थित रहेका थिए। कार्यक्रममा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेको परिवारबाट जेठा दाजु डीएस आले र भाउजु रेणुका आले पनि उपस्थित रहेका थिए। कार्यक्रममा आकाशवाणी खरसाङका पूर्व कर्मचारीहरू साथै आकाशवाणी सिलगढीका पदाधिकारीहरु र कर्मचारीहरु उपस्थित रहेका थिए।

कार्यक्रममा विभिन्न वरिष्ठ साहित्यकार एंव कलाकारहरुद्वारा पारसचन्द्र आले विषयमा भनिएको विभिन्न उदगारहरु पनि भिडियो डिसप्लेगरेर देखाइएको थियो। उक्त सम्मानपछि आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेले आफ्नो सम्बोधनमा सबैमा धन्यवाद दिएका छन्। उनले आकाशवाणी खरसाङलाई आफुले दिएको भन्दा बेसी आफुलाई दिएको बताएका छन्। उनले आफ्नोे सम्भाषणमा भने, ‘आकाशवाणीलाई मुटुमा राखेर काम गर्ने सल्लाह छ। म मेरो टिमसित मिलेर काम गर्नु धेरै थियो तर दौडन्दा दौडन्दै ६० को अंकले मलाई बिसाउनु भनेको छ। मेरो सबै काममा केवल ६० को अंकले मात्रै मलाई अल्झायो तर अरु सबैबाट म सन्तुष्टिको साथमा जाँदैछु।’
पारसचन्द्र आलेले आफ्नो अनुजहरुलाई सुझाव दिन्दै भने, आफ्नो खाने थालमा आँचि नगर्नु होला। खाने ठाउँमा नथुक्नु होला। बरु माया गरेर लानु सबैले। सबैलाई धेरै धन्यवाद छ। यत्रो बेसी सम्मान पाउँछु भनेर सोचेको थिइनँ तर तपाईँहरुकै कारणले यत्रो ठूलो सम्मान पाएको छु। सबै सबैमा धन्यवाद छ।’

कार्यक्रममा धन्यवाद ज्ञापन आकाशवाणी खरसाङको प्रसारण निष्पादक मनन तामाङले राखेका थिए।
पारसन्द्र आले ९ दिसम्बर १९९३ सालमा आकाशवाणी खरसाङमा प्रसारण निष्पादकको रुपमा नियुक्त भएर आएका थिए। उनले लगभग उन्तीस वर्ष काम गरेर आकाशवाणी खरसाङको कार्यक्रम प्रमुखको पदबाट अवकाश भएका छन्। उनले आकाशवाणी खरसाङसित जोडिएर भारतीय नेपाली साहित्य, संगीत, कलासित सम्बन्धित स्रष्टाहरु र कलाकारहरुसित मिलेर धेरै कार्य गरेका थिए। उनले आकाशवाणी खरसाङको गरिमालाई यथावत् राख्नलाई लगन र परिश्रमकि साथमा निरन्तर कार्य गरेका छन्। पारसचन्द्र आलेको सिर्जनात्मक कार्यको कारणले आकाशवाणी खरसाङको विभिन्न कार्यक्रमहरू जस्तै – ‘मनका कुरा’, नमस्ते आकाशवाणी खरसाङ, हाम्रो संस्कार – हाम्रो संस्कृति, तपाईको गाउँमा, सिर्जना, जीवनका तिता मिठा अनुभूतिहरु’ जस्ता उच्च कोटिका प्रसिद्ध कार्यक्रमहरु सञ्चालन भइरहेका छन्।









