सिलगढी: मधुर मिलन संघ, मिलन मोड़को तत्त्वावधानमा आयोजित ११औं मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा सिक्किम पुलिसले चरम रोमाञ्चक जीत हासिल गरी सेमिफाइनलमा प्रवेश गऱ्यो। स्थानीय खेल मैदानमा सोमवार भएको पहिलो क्वार्टर फाइनल म्याचमा सिक्किम पुलिसले राजगञ्ज वेलफेयर एसोसिएशनविरुद्ध पेनल्टी शूटआउटमा १२-११-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका गोलकीपर पुजन प्रधानले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यस प्रतिष्ठित टुर्नामेण्टको ११औं संस्करणमा जम्मा १६ वटा नामी-दामी टीमहरूले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १२ जनवरी २०२५-मा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रुद्रलाल अधिकारी र कृष्ण कुमारी भण्डारी स्मृति विनर्स ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई शोभन सिंह खेरवार र तुलसी प्रसाद शर्मा स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। मंगलवार र बुधवार कुनै म्याच छैन।

बिहीवार खेलिने पहिलो राउण्डको अन्तिम म्याचमा मिलन समिति, कलकत्ता र दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) बीच भिड़न्त हुनेछ।











