नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणको ७० वर्ष पूरा हुदै महोत्सवको तयारी

IMG-20241230-WA0172

फुङलिङ: ताप्लेजुङमा आगामी वैशाख (अप्रैल – मई )मा कञ्चनजंघा हिरक महोत्सव मनाइने भएको छ। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणको ७० वर्ष पुगेको अवसरमा हिरक महोत्सव मनाउन लागिएको हो।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा कञ्चनजंघा आरोहणको ७०औं वार्षिक उत्सव अर्थात् हिरक महोत्सव मनाउन लागिएको छ। परिषद्ले सदरमुकाम फुङ्लिङमा आइतबार पत्रकार सम्मेलन गर्दै २०८२ साल वैशाख ५ देखि ७गते (२०२५ अप्रैल १७-१९) सम्म तीन दिन कञ्चनजंघा हिरक महोत्सव मनाइने जानकारी दिएको छ।
कञ्चनजंघा हिरक महोत्सव परिषद्को मुख्य कार्यालय रहेको फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपमा आयोजना गरिने भएको छ। परिषद्का सदस्य–सचिव मनकुमार राईका अनुसार कञ्चनजंघा संरक्षण क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरी पर्यटन विकास र प्रवद्र्धन गर्ने उद्देश्यले हिरक महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवमा कञ्चनजंघा संरक्षण क्षेत्र भ्रमणका लागि पदयात्रा गर्न आह्वान गर्ने, यहाँँको पर्यटकीय गन्तव्य तथा स्थलको फोटो प्रदर्शनी, स्थानीय समुदायको संस्कार र संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रवर्द्धन र प्रचार, खाद्य परिकारको प्रदर्शनीजस्ता गतिविधि हुने छन्। यस्तै खुला पुरुष भलिबल प्रतियोगिता पनि सञ्चालन गरिने परिषद्ले जनाएको छ।
यता कञ्चनजंघा हिरक महोत्सवलाई व्यापक बनाउन काठमाडौंमा राष्ट्रिय स्तरको महोत्सव लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले जानकारी दिए।
त्यस्तै बेलायती राजदुतावासको व्यवस्थापन तथा समृद्ध पहाड परियोजनाको समन्वयमा बेलायतमा समेत हिरक महोत्सवअन्तर्गतको कार्यक्रम गर्नेगरी प्रक्रिया अघि बढाएको समृद्ध पहाड परियोजनाकी कार्यक्रम संयोजक चित्राकुमारी चङ्सु (मेन्याङ्बो) ले बताइन्।
कोभिड-१९ महामारीपछि कञ्चनजंघा क्षेत्रको भ्रमण गर्ने बाह्य तथा आन्तरिक पर्यटकको वृद्धि भइरहेकोबेला महोत्सवले थप टेवा पुग्ने अपेक्षा राखिएको कञ्चनजंघा संक्षरण क्षेत्र कार्यालयका संरक्षण अधिकृत (वार्डेन) प्रमोदकुमार यादवले बताए। महोत्सवले कञ्चनजंघा क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनमा व्यापकता पाउने र पर्यटकको उपस्थिति बढ्ने विश्वास राखिएको यादवको भनाइ छ।
समुद्री सतहदेखि आठ हजार ५८६ मिटर उचाइ रहेको कञ्चनजंघा हिमालको सन् १९५५ मे २५ मा बेलायतका आरोही जर्ज बैण्डले पहिलो पटक आरोहण गर्नुभएको थियो। यसअघि २०७३ साल(२०१६ नवंबर )मा पनि कञ्चनजंघा आरोहणको ६० वर्ष पुगेको अवसरमा ताप्लेजुङमा हिरक महोत्सव आयोजना गरिएको छ। त्यसबेला महोत्सवको तत्कालीन प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement