गान्तोक: डुवर्स नेपाली साहित्य विकास समितिको तीन दिवसीय स्वर्ण जयन्ती कार्यक्रमको आज समापन भयो। बिरपाढा नेपाली उच्चत्तर माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित समापन कार्यक्रममा सिक्किम राज्यका शहरी विकास विभाग मन्त्री भोजराज राई मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने दार्जीलिङका लोकसभा सांसद राजु विष्ट विशिष्ट अतिथिकोरूपमा रहेका थिए। यस अवसरमा डुवर्स नेपाली साहित्य विकास समितिद्वारा प्रकाशित पुस्तक, एक सामुहिक कविता संग्रह डुवर्सका कविताहरु नामक कविता संग्रहको विमोचन मुख्य अतिथि अनि बिशिस्ट अतिथिको बाहुलीबाट विमोचन गरियो।

कार्यक्रममा डुवर्सलाई चिनाउने डुवर्स भरिका साहित्य अनि सामाजिक स्रष्टाहरु, संगीत, चित्रकार, पारखीहरुलाई अभिनन्दन जनाइयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री भोजराज राईले आफ्नो सिमाना नमिले पनि जातीय मन एउटै हो भन्दै सिक्किम सरकारको प्रतिनिधि गरेर यहाँ आउन पाउँदा अहोभाग्य रहेको बताए। डुवर्सको भुमरीमा आफ्नो पहिलो पदार्पण रहेको जानकारी गराए। म यहाँ राजनीति भाषा गर्न आएको होइन तर नेपाली भाषा साहित्य जगतको उत्थान हुनुपर्छ भन्ने धारणा लिएर आएको बताए। हामी थुतुनो बजाउनेमा पर्छौ र तपाइँहरु कलम चलाउनेमा हुनुहुन्छ दुवैले नीति निर्धारण गरेर भाषा र साहित्यको संरक्षण गर्नुपर्छ, उनले भने। हाम्रो जातिलाई राम्रो शिक्षा र संस्कारमा डोर्याउन देश र साहित्यको विकासको निम्ति सबै जना अघि आउनु पर्ने आग्रह गरे। आफू सिक्किमेली भएता पनि आफ्न मन भने न सम्पुर्ण देश अनि बिदेशमा बसेका नेपालीहरुको मनमा रहेको बताए।
सिक्किम सरकारले राज्यमा नेपाली भाषाको थप उत्थान र बिकासको काम गरेको जानकारी दिँदै नेपाली भाषालाई सरकारी अधिसूचनामा प्रयोग गर्न शुरु गरेको बताउँदै यसले हाम्रो मौलिक पहिचानलाई जीवित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने किटान गरे।
मुख्यमन्त्री प्रेम सिंह तामाङका केही संदेशहरु पनि उनले पढेर सुनाए।

सोही प्रकारले कार्यक्रममा सांसद राजु विष्टले आफ्नो सम्बोधनमा डुवर्स नेपाली साहित्य बिकास समितिले आफ्नो सम्झेर निमन्त्रणा गरेकोमा धन्यवाद दिदै साहित्यिक मञ्चमा नेपाली भाषा र संस्कृतिलाई नयाँ उचाइँमा पुऱ्याउन महत्त्वपूर्ण योगदान पुऱ्याउनु पर्ने कुरामा जोड दिए। गोर्खा जातिको निम्ति नेपाली साहित्यको विश्वव्यापी पहुँचलाई अझ सुदृढ बनाउने विश्वासका साथ यो कार्यक्रम आयोजना भएको बताए। आफूले गरेको राजनीति भनेको सम्पूर्ण गोर्खा जातिको हित र विकासका लागी हो ,उनले भने। कार्यक्रममा कालचिनिका विधायक विशाल लामाले पनि नेपाली भाषा साहित्यको विकास र उत्थानका लागि गोर्खा जाति एक भएर काम गर्नपर्न आवहान गरे।