जलपाईगढी: गोप्य स्रोतको आधारमा जलपाईगढी जिल्लाको मालबजार महकुमाका पुलिस अधिकारी रोशन प्रदीप देशमुखको नेतृत्वमा शनिबार राति माल थानाको दमदिम बजार क्षेत्रमा मोहम्मद रहिदको घरमा खोजी अभियान चलाइको थियो।

खोजीका क्रममा मोहम्मद रहिदको घरबाट ५ हजार ७ सय ५२ वटा लागुऔषध ट्याब्लेट, कफ सिराफको १ हजार ७८ बोतल, सुनको दुई वटा हार, एउटा थान ब्रेसलेट बरामद भएको छ। कानपुरस्थित सरकारी बन्दुक कारखानामा निर्मित ३२ क्यालिबर रिभल्भर पनि बरामद भएको छ।

तर, पुलिसरीको उपस्थिति थाहा पाएर मोहम्मद रहिद भाग्न सफल भएको विशेष स्रोतको भनाइ छ। यस्तै घटनाले दमदिम ग्राम पञ्चायत क्षेत्रमा त्रास फैलाएको छ।

घटनाका सम्बन्धमा माल पञ्चायत समितिका उपाध्यक्ष सुनील कुमार प्रसादले भने, ‘यो घटनाको खबर सिलगढीबाट फर्केपछि पाएको थिएँ। यस्तो घातक घटना हामीले सोच्न पनि सक्दैनौं, कसरी आयो हतियार, कसरी आयो यति धेरै औषधि?’ पुलिसको भूमिकाको प्रशंसा गर्दै उनले घटनामा संलग्न व्यक्तिलाई यथाशिघ्र पत्ता लगाएर कानूनको दायरामा ल्याउने बताए।