सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजनमा हुने प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणको आधिकारिक शेड्यूल र प्रोमो भीडियो जारी गरियो। आइतवार सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको निजी भवनमा भएको प्रेस कन्फ्रेन्समा जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा हुने यस टुर्नामेण्टको शेड्यूल जारी गरियो। टुर्नामेण्टको १८औं संस्करणमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसमा स्थानीय नामी-दामी टीमहरूको साथमा छिमेकी राज्य सिक्किम, छिमेकी देश नेपाल, भूटान र कलकत्ताका शीर्ष टीमहरू सामेल छन्। आउँदो ५ जनवरीमा हुने उद्घाटन म्याचमा रेड हर्स फूटबल क्लब (इलाम, नेपाल) र मिलन समिति, कलकत्ताबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २२ र २३ जनवरीमा हुनेछ। यसरी फाइनल २५ जनवरीमा खेलिनेछ। सबै म्याचहरू सुकना हाई स्कूल खेल मैदानमा हुनेछ। आज टुर्नामेण्टको आधिकारिक प्रोमोशनल भीडियो पनि जारी गरियो। आज प्रेस कन्फ्रेन्समा आयोजक सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनका महासचिव नेहाल गिरी र अध्यक्ष सञ्जय छेत्रीको साथमा सभासद नवराज छेत्री (एमओडी, युवा मामिला एवम् खेलकुद विभाग, जीटीए), सभासद परेश तिर्की (एमओजी, बीसीडब्ल्यी, ट्राइबल डेवलपमेण्ट विभाग, जीटीए), पूर्व खेलाड़ी तथा जीटीए एकादशका प्रशिक्षक लाक्पा शेर्पा अनि म्यानेजर निर्मल राईको साथमा आयोजक समितिको तर्फबाट अन्य पदाधिकारीवर्गको उपस्थिति रहेको थियो। १८औं सुकना गोल्ड कप फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।