पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह पञ्चतत्वमा विलीन

00-1-Manmohan-Singh.jpeg-4

नयाँ दिल्ली: देशका पूर्वप्रधानमन्त्री तथा विश्व प्रसिद्ध अर्थशास्त्री डा मनमोहन सिंह शनिबार पञ्चतत्त्वमा विलीन भएका छन्। पूर्वप्रधानमन्त्री मनमोहन सिंहको तिरङ्गा झण्डा ओडाइएको पार्थिव शरीरलाई निगमबोध घाटमा पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखड, प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खडगे, कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धी, लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी, कांग्रेस पार्टीका अन्य वरिष्ठ नेताहरू र केन्द्र सरकारका धेरै मन्त्रीहरू सहभागी थिए। अन्तिम संस्कार अघि तीन सेनाका सर्वोच्च कमाण्डर राष्ट्रपति द्रौपदी मुर्मुले पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई सलामी दिइन्। पूर्वप्रधानमन्त्रीको पार्थिव शरीरलाई तीनवटा सशस्त्र बलका अधिकारीले सैनिक ब्याण्डसहित निगमबोध घाटमा पुर्याए। पूर्वप्रधानमन्त्रीलाई भारतीय सेना, नौसेना र वायुसेनाका अधिकारीहरूले यहाँ सलामी दिए।

पूर्वप्रधानमन्त्री मनमोहन सिंहको दिल्लीको निगमबोध घाटमा सिख संस्कारअनुसार अन्तिम संस्कार गरियो। यस क्रममा उनकी श्रीमती र तीन जना छोरी उपिन्दर सिंह, दमन सिंह र अमृत सिंह उपस्थित थिए। यहाँ उनकी जेठी छोरी उपिन्दर सिंहले बाबुको चितामा मुखाग्नी दिइन्। पूर्वप्रधानमन्त्रीको शवयात्राका क्रममा ‘डा मनमोहन सिंह जिन्दाबाद’ ‘डा साहब अमर रहे’को नारा गुन्जियो। पूर्वप्रधानमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता डा मनमोहन सिंहलाई श्रद्धाञ्जली अर्पण गर्दै राहुल गान्धीले आज उनलाई अन्तिम बिदाइ दिँदै डा मनमोहन सिंहको नम्रता, मार्गदर्शन र देशका लागि उहाँको योगदान इतिहासको पानामा सदैव रहने बताए।

श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले भने, ‘देश र भारतीय राष्ट्रिय कांग्रेसको तर्फबाट पूर्व प्रधानमन्त्री डा मनमोहन सिंह जीलाई अन्तिम सलाम।‘ अन्तिम संस्कारमा लोकसभा अध्यक्ष ओम बिरला, केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, दिल्लीका मुख्यमन्त्री आतिशी, दिल्लीका उपराज्यपाल भी के सक्सेना, प्रियंका गान्धी वाड्रालगायत विभिन्न दलका वरिष्ठ नेताहरू, र विदेशी गन्यमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो। ‘जब तक सूरज चांद रहेगा मनमोहन सिंह का नाम रहेगा’, ‘मनमोहन सिंह भारत मां का लाल’ जस्ता नारा लगाइएको थियो। पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको अन्तिम यात्रा कांग्रेस मुख्यालयबाट शुरु गरियो। शनिबार बिहान भारतीय सेना, नौसेना र वायुसेनाका अधिकारीहरूले पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको पार्थिव शरीरलाई कांग्रेस मुख्यालयमा ल्याए। स्वर्गीय मनमोहन सिंहकी पत्नी र वरिष्ठ कांग्रेस नेताहरू यहाँ उपस्थित थिए। कांग्रेस संसदीय दलका अध्यक्ष सोनिया गान्धी र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले मनमोहन सिंहको पार्थिव शरीरमा भारतीय राष्ट्रिय कांग्रेसको झण्डा अर्पण गरेर श्रद्धाञ्जली अर्पण गरे। श्रद्धाञ्जली दिएपछि पूर्वप्रधानमन्त्रीको पार्थिव शरीर निगमबोध घाटमा ल्याइयो। राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र उपराष्ट्रपति जगदीप धनखडलगायत धेरै विशिष्ट व्यक्तिहरूले निगमबोध घाटमा पूर्व प्रधानमन्त्रीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement