नेपालीको ‘अल्ट्राकेयर’ लाई चीनमा अवार्ड

IMG-20241228-WA0201

काठमांण्डू: गर्भावस्थामा देखिने जटिलताहरू समयमै पहिचान गर्न सघाउने ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) मा आधारित उपकरणको अवधारणा प्रस्तुत गरेर नेपालको एक विद्यार्थी समूहले चीनमा आयोजित प्रतियोगितामा अवार्ड जितेको छ।
सेन्जेन सहरमा भएको ‘टेक फर गुड’ प्रतियोगितामा नेपाली विद्यार्थीको समूहले ‘पिपल्स च्वाइस अवार्ड’ पाएको हो। उक्त प्रतियोगिता १९ देशका ३ सयभन्दा धेरै प्रतिस्पर्धीबीच भएको थियो। शनिबार काठमाडौंस्थित हुवावे नेपालले एक कार्यक्रम गरी विजेताहरूलाई अवार्ड हस्तान्तरण गर्‍यो।
नेपाली विद्यार्थीको टोलीले प्रस्तुत गरेको ‘अल्ट्राकेयर’ नामक परियोजनाले अवार्ड जितेको हो। हात्तीसारस्थित हुवावे टावरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘टिम अल्ट्राकेयर’ का नामबाट सेन्जेनमा लोकप्रिय बनेको टोलीलाई अवार्ड हस्तान्तरण गरे थिए।
विजेता विद्यार्थीहरूको समूहमा काठमाण्डू विश्वविद्यालय र पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर साइन्स, इलेक्ट्रोनिक इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङलगायत विषयमा स्नातक तहमा अध्ययनरत प्रियांशु शर्मा, एन्जलिना घिमिरे, समृद्धि कार्की, साधना पन्थी, आशिष कार्की, समीप अर्याल संलग्न रहेका छन्।
नेपाली समूहले गर्भावस्थामा हुने जटिलताको यथाशीघ्र पहिचान गर्ने एआईमा आधारित ‘अल्ट्राकेयर डिभाइस’ बारे प्रतियोगितामा आइडिया सुनाउँदा धेरैले प्रशंसा गरेका थिए। एआई प्रविधिमा आधारित एक ठाउँबाट अर्को ठाउँमा लिएर हिँड्न मिल्ने ‘पोर्टेबल अल्ट्रासाउन्ड’ उपकरण सोलार पावरबाट सञ्चालन हुनेगरी उनीहरूले डिजाइन गरेका छन्।
यसले स्थानीय भाषा पनि बुझ्ने भएकाले चलाउन सजिलो हुने काठमाण्डू विश्वविद्यालयमा कम्प्युटर साइन्समा स्नातक चौथो तहमा अध्ययनरत एन्जलिनाले बताइन्। ‘ग्रामीण भेगको सामाजिक समस्यालाई सम्बोधन गर्ने डिभाइस भएकाले हामीले अवार्ड जितेका हौं भन्ने लाग्छ,’ उनले भने, ‘अवार्ड जित्नुभन्दा पनि ठूलो उपलब्धिचाहिँ त्यहाँ पाएको एक्स्पोजर थियो।’
ग्रामीण भेगको सामाजिक समस्या समाधान गर्ने क्षमताका कारण आफूहरूको परियोजनाले अन्तर्राष्ट्रिय स्तरमा रुचि र समर्थन पाएको ‘टिम अल्ट्राकेयर’ का अर्का सदस्य आशिषको पनि बुझाइ छ। आशिषका अनुसार प्रतियोगितामा प्रस्तुत आइडियाहरूमध्ये १९ देशका ३ सय सहभागीहरूको भोटिङबाट विजेता छनोट गरिएको थियो।
अल्ट्राकेयरकी अर्की सदस्य प्रियांशुका अनुसार यो उपकरणले गर्भवती महिलाहरूको स्वास्थ्य जटिलता समयमै पत्ता लगाएर तुरुन्तै उपचार गर्न सघाउँछ।
चीनको नाननिङ, शनचनजस्ता सहरका सूचना प्रविधि कम्पनी र इलेक्ट्रोनिक बजार भ्रमण गरेपछि नेपालमा पनि प्रविधिको प्रयोगमार्फत समाज रूपान्तरण गर्न सकिने अनुभव उनीहरूले लिएका छन्। सूचना प्रविधिमा चीन धेरै अगाडि पुगिसकेको अनुभव उनको छ। हुवावे टेक्नोलोजिजले सन् २०१९ देखि नेपालमा ‘सिड फर द फ्युरच’ कार्यक्रम आयोजना गर्दै आएको छ। युवा विद्यार्थीलाई प्रविधि क्षेत्रमा प्रोत्साहन गर्न कार्यक्रम गरिएको कम्पनीले जनाएको छ। यस कार्यक्रमअन्तर्गत विभिन्न देशका विद्यार्थीलाई आईसीटी, नवप्रवर्तन र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिइन्छ।
यसमा छनोट हुने विद्यार्थीमध्ये केहीलाई ‘टेक फर गुड’ प्रतियोगितामा पठाउने र त्यहाँ विजयी हुनेले ‘ग्लोबल टेक फर गुड’ मा भाग लिन पाउनेछन्। सो प्रतियोगितामा सहभागी विद्यार्थीहरूले सामाजिक समस्याहरू समाधान गर्ने प्रविधिमूलक परियोजना तयार गर्नुपर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement