सिलगढी: मधुर मिलन संघ, मिलन मोड़को तत्त्वावधानमा आयोजित ११औं मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा आमुक्त परिवारले रोमाञ्चक जीत हासिल गरी क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। स्थानीय खेल मैदानमा शनिवार भएको म्याचमा आमुक्त परिवारले जर्जियन फूटबल क्लबविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट म्याचको एकमात्र गोल करण राईले तेस्रो मिनटमा गरे। म्याचमा जर्जियन फूटबल क्लबले पनि धेरै मौका पाएको थियो तर खराब फीनिशिंगले गर्दा टीमले गोल गर्न सकेन। म्याचमा गोलदाता करण राई र बसत राईलाई इञ्ज्युरी टाइमको खेलमा रेड कार्ड देखाइयो। विजेता टीमका विंगर आकाश सुन्दासले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यस प्रतिष्ठित टुर्नामेण्टको ११औं संस्करणमा जम्मा १६ वटा नामी-दामी टीमहरूले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १२ जनवरी २०२५-मा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रुद्रलाल अधिकारी र कृष्ण कुमारी भण्डारी स्मृति विनर्स ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप् हुने टीमलाई शोभन सिंह खेरवार र तुलसी प्रसाद शर्मा स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आइतवार खेलिने म्याचमा कनकाई फूटबल क्लब (नेपाल) र संकटा फूटबल क्लब (दार्जीलिङ)-बीच भिड़न्त हुनेछ।










