मालदामा महिलाको जलेको शव मामला: एक जना पक्राउ, शवको पहिचान खुल्यो

IMG-20241228-WA0179-copy

मालदा/कोलकाता: मालदा जिल्लाको चांचलको मालतीपुरमा एक महिलाको हत्या गरेर शव जलाउने घटनामा मुख्य आरोपी अबु ताहेरलाई कटवा थानाका पुलिसले पक्राउ गरेको छ। डाउन राधिकापुर एक्सप्रेस ट्रेनबाट हावडातर्फ भाग्दै गर्दा कटवा थानाको पुलिसले नवद्वीप स्टेशनबाट उनलाई पक्राउ गरेको हो। समाचारअनुसार, चांचल थाना पुलिसले दिएको इनपुटको आधारमा कटवा थानाका पुलिसले अबु ताहेरलाई पक्राउ गरेको हो। पक्राउ परेका आरोपीलाई बिहानै चांचल लगिएको छ। यसैबीच, चांचलको एउटा आँपको बगैंचामा जलेको अवस्थामा भेटिएको महिलाको शवको पहिचान गरिएको छ। घटनास्थलबाट पुलिसले रगतले लतपतिएको चक्कु, नाकको नथ र गहना बरामद गरेको छ। त्यस्तै, नजिकैको एक जलाशयबाट आधार कार्ड र मतदाता कार्ड भएको झोला पनि फेला परेको छ। यी कागजातहरूको आधारमा मृतकको पहिचान गरी परिवारलाई जानकारी गराइएको छ।

मृतक महिलाको परिवारले चांचल थाना पुगेर उनीहरूकी छोरी भएको पुष्टि गरेका छन्। समाचारअनुसार, मृतकको १० वर्ष पहिले उत्तर दिनाजपुर जिल्लाको कालियागंज थाना क्षेत्रमा विवाह भएको थियो। उनका दुई सन्तान छन्। यद्यपि, केही वर्षअघि उनको श्रीमानसँग सम्बन्धविच्छेद भएको थियो। शनिबार पूर्वी बर्दवान जिल्लाको कटवा थानाबाट मुख्य आरोपी अबु ताहेर पक्राउ परेका छन्। आरोपी र मृतकबीच नजिकको सम्बन्ध हुनसक्ने पुलिसले शंका गरेको छ। हत्या कुनै विवादका कारण भएको हुनसक्छ भन्ने प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। जिल्ला पुलिस अधिक्षक प्रदीप कुमार यादवले भनेका छन् कि घटना हुनु अघि बिहीबार सैमसी रेलवे स्टेशनको सीसीटीभी फुटेजमा आरोपीहरूसँग एक महिला देखिएकी थिइन्। पछि आरोपी एक्लै स्टेशनबाट बाहिरिएका थिए, तर महिला देखिएकी थिइनन्। चांचल निवासी महिलाको सोही राति हत्या गरिएको हुनसक्ने पुलिसको आशंका छ। घटनाको फरेन्सिक र डीएनए परीक्षण प्रक्रिया शुरु गरिएको छ। मृतकका परिवारसँग सोधपुछ जारी छ, तर उनीहरूले आरोपीहरूबारे कुनै जानकारी दिएका छैनन्। पुलिसले आरोपीसँग सोधपुछ गरेर घटनाको पछाडिको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ। साथै, घटनामा अरू कोही संलग्न रहेको छ कि भनेर अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement