तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट: युकेएफसी क्वाटर फाइनलमा प्रवेश

photocollage_20241227221446397

खरसाङ: तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको अन्तिम प्रि क्वाटर फाइनल खेलमा‌ युकेएफसीले राईजिङ्ग स्टारलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ।‌ खेल शुरु भएको १४औं मिनटमा राईजिङ स्टारको जर्सी नम्बर ७ रोहित भुजेलले गोल गरेर बढत बनाएका थिए। दोस्रो हाफको खेलमा युकेएफसीको जर्सी नम्बर ११ गोपाल लामाले ४०औं मिनटमा खेल बराबरीमा ल्याएका थिए।‌ निर्धारित समयसम्म पनि दुवै दलले १-१ गोल गरेपछि पेनाल्टी सुट आउट खेलाइएको थियो। पेनाल्टीमा युकेएफसीको एकजना र राईजिङ स्टारको दुईजनाले पेनाल्टीमा‌ गोल गर्न नसकेपछि युकेएफसीले खेल जितेर क्वाटर फाइनलमा प्रवेश गरेको छ। अब आगामी ३१ दिसम्बरमा युकेएफसीको भीडन्त मोरङ नेपालसित हुने भएको छ। आजको खेलमा म्यान अफ्‌ द म्याच युकेएफसीको छोगेल तामाङ चयन भएका छन्। यस खेलमा युकेएफसीको तर्फबाट जीटीए‌ ईलिभेनबाट खेल्ने खेलाडीद्वय बीरेन प्रधान र सदीश राई पनि तीनधारेको मिठाईडाँडा खेल मैदानमा खेलेका थिए। यस खेलमा मुख्य अतिथिको रुपमा मित्र संघ गोलाई पाखाको सभापति मसीह प्रकाश मोक्तान उपस्थित रहेका थिए। विशिष्ट अतिथिहरुमा मित्र संघ गोलाई पाखाको सचिव राजेस सेवा, सभासद नवराज छेत्री र कर्माध्यक्ष दावा वाङ्दी लामा पनि उपस्थित रहेका थिए। अब शनिबारको खेल शिवखोला एफसी र ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीमाझ सम्पन्न हुने भएको छ। आजको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको सचिव रञ्जित थापाले तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट फाईनल खेल आगामी १२ जनवरीमा‌ होइन तर दुई दिन अघि १० जनवरी शुक्रबारको दिन सम्पन्न हुने जानकारी गराएका छन्‌‌। उनले दुईवटा सेमी फाइनल भने पूर्व निर्धारित समय ४ र ५ जनवरीमा नै सम्पन्न हुने जानकारी गराएका छन्। उनले तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टमा टाडाका नामी नामी फुटबल क्लबहरु आईसकेको र अब मोरङ नेपाल र जर्जियन एफसी कालेबुङको खेल हुन बाँकी रहेको बताएका छन्‌। उनले अब शनिबारदेखि क्वाटर फाइनल खेल शुरु हुने जानकारी गराएका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement