गोरामुमोद्वारा दार्जिलिङमा जातीय कवि अगमसिंह गिरी जयन्ती समारोह सम्पन्न

IMG-20241227-WA0237

दार्जीलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) जनचेतना संघर्ष समितिको तत्वावधानमा आज कला मन्दिर, दार्जीलिङमा जातीय कवि अगम सिंह गिरीको ९७औं जन्म जयन्ती भव्य रूपमा मनाइएको छ। समारोहको उद्घाटन कवि नगेन्द्र गोर्खाले कवि गिरीको तस्विरमा दीप प्रज्वलन गर्दै गरेका थिए। कार्यक्रममा मुख्य अतिथिका रूपमा कवि नगेन्द्र गोर्खा गोर्खा उपस्थित रहेको थिए। यस कार्यक्रमलाई आरके दर्नालले सञ्चालन गरेका थिए।
कार्यक्रममा गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्यहरू एनबी. प्रधान, किशोर राई, अमर तामाङ, अरुण राई, गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवाल, कोअर्डिनेटर संजोक गुरुङ साथै जनचेतना संघर्ष समिति र अन्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको प्रारम्भ इशिका मंग्रातीको स्वागत सम्बोधनबाट भएको थियो। समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। यसै क्रममा कवि रोशनी राई, बासु छेत्री, अलिशा थापा लगायत अन्य प्रतिभाशाली कविहरूले कविता वाचन गरेका थिए। समारोहमा कवि नगेन्द्र गोर्खाले अगमसिंह गिरीको योगदानमाथि प्रकाश पार्दै भने, “कवि अगमसिंह गिरी गोर्खा जातीय कवि हुन्। उनले आफ्नो साहित्यको माध्यमबाट गोर्खा समुदायको भावना र आवाजलाई अभिव्यक्त गर्दै समाजमा नयाँ चेतना फैलाउने काम गरेका छन्। उनका कविता, गजल र अन्य रचनाहरूले न केवल साहित्यिक योगदान पुर्‍याए, तर राजनीतिक र सामाजिक चेतनाका लागि पनि मार्गदर्शन प्रदान गरे।”

उनले गोर्खा जातिको घर–घरमा अगमसिंह गिरी जस्ता प्रतिभा जन्मिनु पर्नेमा जोड दिँदै गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङद्वारा स्थापना गरिएको ‘गिरी पुरस्कार’ को महत्त्व पनि स्मरण गराए।

समारोहमा गोरामुमो जनचेतना संघर्ष समितिको तर्फबाट कविहरूलाई स्मृति चिन्ह प्रदान गर्दै सम्मान गरियो। यो कार्यले साहित्य र कविताको महत्वलाई अझ प्रोत्साहन गर्ने विश्वास लिइएको छ। यस ऐतिहासिक गिरी जयन्तीले गोर्खा समुदायको सांस्कृतिक र साहित्यिक धरोहरप्रतिको सम्मानलाई उजागर गर्दै, भावी पुस्तालाई प्रेरित गरेको छ। अगम सिंह गिरीजस्ता व्यक्तित्वहरूको योगदानलाई स्मरण गर्न यस्ता कार्यक्रमहरूले अझ सशक्त भूमिका खेल्ने विश्वास गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement