नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज एक भिडियो सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले डा सिंहको निधनलाई राष्ट्रका लागि ठूलो क्षति भएको बताएका छन्। प्रधानमन्त्रीले भने, “जीवनका हरेक क्षेत्रमा सफलता हासिल गर्नु सामान्य उपलब्धि होइन। विभाजनका दौरान भारत आएका बेला धेरै गुमाउनु परे पनि डा सिंहले आफ्नो जीवनमा असाधारण सफलता प्राप्त गर्नुभएको थियो।” उनले डा सिंहको जीवन भावी पुस्तालाई विपरीत परिस्थितिहरूलाई जितेर अगाडि बढ्न सिकाउने प्रेरणा भएको बताए।
प्रधानमन्त्रीले जोड दिए कि डा सिंहलाई सधैं एक दयालु व्यक्ति, विद्वान अर्थशास्त्री र सुधारका लागि समर्पित नेता भनेर सम्झना गरिनेछ। अर्थशास्त्रीको रूपमा भारत सरकारमा विभिन्न भूमिकामा डा सिंहको योगदानलाई उनले विशेष रूपमा उल्लेख गरे। भारतीय रिजर्भ ब्यांकका गभर्नरको रूपमा चुनौतीपूर्ण समयमा डा. सिंहले पुर्याएको भूमिकाको पनि प्रधानमन्त्रीले प्रशंसा गरे। प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री तथा भारत रत्न पीभी नरसिंह रावको सरकारमा वित्तमन्त्रीको रूपमा डा मनमोहन सिंहले देशलाई आर्थिक संकटबाट निकालेर नयाँ आर्थिक मार्गतर्फ अघि बढाएको बताए। प्रधानमन्त्रीको रूपमा देशको प्रगति र विकासमा डा सिंहको योगदानलाई सदैव स्मरण गरिने उल्लेख गर्दै उनले नागरिकप्रतिको समर्पणलाई उच्च सम्मान दिइने बताए।
प्रधानमन्त्री मोदीले भने, “डा सिंहको जीवन इमानदारी र सादगीको प्रतिरूप थियो। उनको संसदीय करियर विनम्रता, सौम्यता र बुद्धिमत्ताले भरिएको थियो।” प्रधानमन्त्रीले स्मरण गरे कि यस वर्षको शुरुमा राज्यसभामा डा सिंहको कार्यकाल समाप्त हुँदा पनि उनले डा सिंहलाई प्रेरणाको स्रोत भनेर प्रशंसा गरेका थिए। शारीरिक चुनौतिका बाबजुद डा सिंहले ह्वीलचेयरमा बसेर महत्त्वपूर्ण सत्रहरूमा भाग लिएको र आफ्नो संसदीय कर्तव्यहरू निर्वाह गरेको कुरा उनले उल्लेख गरे। प्रधानमन्त्रीले भने, “विश्वका प्रतिष्ठित संस्थानहरूबाट शिक्षा प्राप्त गरे पनि र उच्च सरकारी पदहरूमा रहे पनि डा सिंहले आफ्नो साधारण पृष्ठभूमिका मूल्यहरूलाई कहिल्यै बिर्सनु भएन।” उनले भने, ‘‘डा. सिंह सधैं दलीय राजनीति भन्दा माथि रहे, सबै दलका व्यक्तिहरूसँग सम्पर्क कायम राखे र सबैका लागि सजिलै उपलब्ध थिए। प्रधानमन्त्री मोदीले आफ्नो मुख्यमन्त्रीकालमा र त्यसपछि पनि डा सिंहसँग राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा भएका स्वत्रन्त्र छलफलहरूलाई सम्झिँदै डा सिंहको परिवारप्रति संवेदना व्यक्त गरे। प्रधानमन्त्रीले देशवासीहरूको तर्फबाट डा सिंहलाई श्रद्धाञ्जली अर्पण गरे। -पीआईबी