गान्तोक: सिलगडी नेपाली साहित्य संस्थानले आज आफ्नो १३औँ स्थापना दिवस कवि गिरीको ९७औँ जन्म जयन्ती एवम् छैटौँ दान खालिङ साहित्य सम्मान कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएको छ।
संस्थानका अध्यक्ष डा. देवचन्द्र सुब्बाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सिक्किम, दार्जिलिङ, कालेबुङ, सिलगडी र डुवर्सका शिक्षाविद्, साहित्यकारहरुको वाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थानका अध्यक्ष डा. सुब्बाले आफ्नो स्वागत् सम्भाषणमा कुनै पनि साहित्यिक संस्था, सामाजिक सङ्गठनको स्थापना भएपछि के कस्ता कामहरू गर्नु पर्ने हो र हाम्रा सय वर्ष पुगेका संस्थाहरू हुँदा हुँदै पनि यतिका वर्षमा भारतीय नेपाली समाज र साहित्य किन सङ्कटको स्थितिमा छ? भन्ने प्रश्नबारे चिन्तन गर्ने समय आइसकेको बताए।
उनले भने, एउटा साहित्यिक संस्था र सामाजिक संस्थाले गर्नु पर्ने कार्य भनेको लोकको सामूहिक चेतनाको विकास गर्नु भनेकै लोकको संज्ञानात्मक विकास गर्नु हो। एउटा भव्य कार्यक्रम गरेर, कविता सुनाएर, अभिनन्दन गरेर संस्थालाई प्रचारमा ल्याउनु मात्रै संस्थाको कार्य होइन। एउटा संस्थाले आउने पुस्ता निर्माण गर्नु पर्छ भन्ने कुरा डा सुब्बाले राखेका थिए।
उक्त संस्थानले ९७औँ गिरी जयन्तीको सन्दर्भमा कवि ज्ञानेन्द्र योक्सोले कवि गिरीको ‘मेरो बचाइँको एक दिन’ कविता वाचन गरे भने गिरीका कविताहरूलाई विविध दृष्टिकोण विश्लेषण गरी आफ्नो गम्भीर व्याख्यान सुनादा डिग्री कलेजका सहप्राध्यापक डा. रागिनी थापाले प्रस्तुत ग़रिन्। उनले गिरीका कविताहरूमा जातीय अस्मिता, जातीय इतिहासको सौन्दर्य र गिरीका कवितामा पर्यावरण, युद्ध र मृत्यु चिन्तन जस्ता विषयहरू उठान भएको विचार राखिन्। कार्यक्रममा एउटा सानो कवि सम्मेलनको आयोजना पनि गरिएको थियो।
यस पटक संस्थानले दार्जिलिङबाट कवि योगिता राई, कालेबुङबाट कवि टिका भाई अर सिलगडीबाट कवि राजा पुनियानीलाई निम्त्याएको थियो। तिन जना कविहरूले आआफ्नै रचनाबाट दुई दुईवटा सान्दर्भिक कविता वाचन गरेका थिए।
विशिष्ट अतिथिहरूमा वरिष्ठ साहित्यकार कवि ज्ञानेन्द्र खतिवडाले आफ्नो संक्षिप्त मन्तव्यमा संस्थाहरूले गर्नु पर्ने उचित कार्य के हो भन्नेबारेबिचार प्रस्फुटन गरे। संस्थाहरू आफैमा अनुशासित भएर योग्य व्यक्ति र योग्य कृतिहरूको चयन गरी अभिनन्द गर्नु पर्छ र आउने दिनमा ससाना संस्थालाई सही मार्ग देखाउने काम गर्नु पर्ने धारणा राखे।
दान खालिङ साहित्य सम्मान समारोहका सन्दर्भमा सरिता शर्माले कवि दान खालिङका दुईवटा कविता वाचन गरेकी थिइन् भने सम्मानित व्यक्तित्व वरिष्ठ साहित्यकार, अनुवादक सुवास दीपकलाई संस्थानका संरक्षक अनुवादक बीर्ख खड्का डुवर्सेलीले पहिरन र नेपाली टोपी पहिरयाएर सम्मान गरेका थिए। खालिङ परिवारबाट दान खालिङकी कान्छी बहिनी नओमी खालिङले स्मृति चिह्न र नगद राशी २० हजार प्रदान गरी सम्मानित गरेकी थिइन्। यस क्रममा संस्थानकै पक्षबाट डा रेमिका थापाले सुवास दीपकलाई सम्मान पत्र प्रदान गरेकी थिइन।
यस कार्यक्रममा चरित्र प्रडक्सन कालेबुङद्वारा प्रकाशित सुवाद दीपकद्वारा अनुदित ‘भारतीय नेपाली कहानी एक सदी का सफर द्वितीय खण्ड’-को लोकार्पण गरिएको थियो। दान खालिङ साहित्य सम्मान प्राप्त गरेपछिको अनुभव साझा गर्दै सुवास दीपकले आफूले जीवनमा गरेका सङ्घर्षहरूको सम्झना गर्दै आउने पीढीले आफ्नो भाषा र साहित्यको संरक्षण गर्नु पर्छ, यसमा वर्तमान पुस्ताले गम्भीरताका साथ कार्य गर्नु पर्ने विचार राखेका थिए।
अनुवादक सुवास दीपकको अनुवादको शैलीमा विद्यावारिधि गरिरहेका वीरेन्द्र खड्काले सुवास दीपकको सङ्क्षिप्त परिचय राखेका थिए भने कार्यक्रममको अन्त्यमा सचिव डा. डप छिरिङ लेप्चाले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको सञ्चालन डा रेमिका थापाले गरेकी थिइन्।