गान्तोक: मंगन जिल्लाका जिल्ला पञ्चायत अध्यक्ष कादो लेप्चाको अध्यक्षतामा आज जिल्ला भवनमा जिल्ला पञ्चायत सदस्यहरूलाई लिएर एक सभा सम्पन्न भयो। यस अवसरमा जिल्ला उपाध्यक्ष सोनम किपा भोटिया, डीपीओ जिल्ला कर्म थेन्डुप भोटिया लगायत अन्यहरूले पनि अंशग्रहण गरेका थिए। आज सम्पन्न सभामा विशेष गरेर वित्तीय वर्ष २०२४-२०२५ को लागि पाँचौं राज्य वित्त आयोग र १५औं केन्द्रीय वित्त आयोग अन्तर्गत मंगन जिल्लाका सबै जीपीयूहरूको लागि कोषको विनियोजन र स्वीकृतिबारे छलफल गरिएको बताइएको छ। सभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष कादो लेप्चाले सबै उपस्थितहरूलाई कृतज्ञता व्यक्त गर्दै सामूहिक प्रयासको आवश्यकतामाथि जोड दिए। उनले जनकल्याण र जिल्लाको समग्र विकासको लागि काम गर्ने निर्वाचित प्रतिनिधिहरूको जिम्मेवारीमाथि प्रकाश पारे।










