चारवटा अर्द्धशतकको साथ बक्सिंग डे टेस्ट म्याचको पहिलो दिन अष्ट्रेलियाको ६ विकेटमा ३११ रन

IMG-20241226-WA0199

मेलबर्न: अष्ट्रेलियाले भारतविरुद्ध बिहीवारदेखि शुरु बक्सिंग डे टेस्ट म्याचको पहिलो दिन असल शुरुवात गर्दै चारवटा अर्द्धशतकको साथ आफ्नो स्थिति मजबूत बनायो। मेलबर्न क्रिकेट ग्राउण्डमा आज पहिलो दिनको खेल समाप्त हुँदासम्म अष्ट्रेलियाले ६ विकेटमा ३११ रन बनायो। जसप्रीत बुमराहले पछिबाट उत्कृष्ट बलिंंग गर्दै केही विकेट हासिल गरे पनि भारत पहिलो दिनको खेलमा अधिकांश समय नै दबाउमा रह्यो। पहिलो दिनको खेल समाप्त हुँदासम्म स्टीव स्मिथ ६८ र कप्तान प्याट कमिन्स ८ रन बनाएर खेलिरहेका थिए। भारतीय बलरहरूमा बुमराहले सर्वाधिक ३ विकेट हासिल गरे। यसरी आकाश दीप, रविन्द्र जडेजा र वाशिंगटन सुन्दरले १-१ विकेट लिए। अष्ट्रेलियाको तर्फबाट आज पदार्पण टेस्ट खेलिरहेका ओपनर सेम कोन्स्टास (६० रन)-को साथमा उस्मान ख्वाजा (५७), मार्नस लाबुशेन (७२) र स्टीव स्मिथले अर्द्धशतक बनाए। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्ने अष्ट्रेलियालाई आज कोन्स्टास र ख्वाजाले असल शुरुवात दिलाए। यसमा १९ वर्षीय कोन्स्टासले आक्रामक मिजासमा खेल्दै विशेषगरी बुमराहलाई भरपूर शास्ती दिए। किशोर कोन्स्टास र ख्वाजाले मिलेर पहिलो विकेटको निम्ति ८९ रनको पार्टनरशीप गरे। जडेजाले कोन्स्टासलाई आउट गरी पार्टनरशीप तोड़े पनि बलरहरूले रिहाई पाएनन्। कोन्स्टासले ६५ बल खेलेर ६ वटा चौका र २ वटा छक्का लगाए। त्यहाँबाट ख्वाजाले लाबुशेनबाट असल साथ पाए अनि यी दुईजनाले मिलेर स्कोर १५४ रनसम्म पुऱ्याए। सीरीजमा पहिलोपल्ट फर्ममा देखिएका ख्वाजालाई बुमराहले आफ्नो पहिलो शिकार बनाए, जसले १२१ बल खेलेर ६ वटा चौका लगाए। ख्वाजा आउट भएपछि लाबुशेनले स्मिथसँग मिलेर रन बनाउन जारी राखे। यी दुईजनाले तेस्रो विकेटको निम्ति ८३ रनको पार्टनरशीप गरे। स्पिनर वाशिंगटन सुन्दरले पछिबाट लाबुशेनलाई आउट गरी यस पार्टनरशीपलाई तोड़े। लाबुशेनले १४५ बल खेलेर ७ वटा चौका लगाए। त्यसपछि बुमराहले असाधारण फर्ममा रहने ट्रेविस हेड र मिचेल मार्शलाई लगातार आउट गरी भारतलाई केही राहत दिलाए। यसमा हेडले खाता पनि खोल्न सकेनन् जबकि मार्शले ४ रन बनाए। दिनको अन्ततिर स्मिथ र एलेक्स केरीले छैटौं विकेटको निम्ति ५३ रन जोड़े। केरी ३१ रन बनाएर आकाश दीपको शिकार बने। स्मिथले १११ बल खेलेर ५ वटा चौका र एउटा छक्का लगाइसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement