- गिरी पुरस्कार २०२४: सी के प्रधान (विचन्द्र)
- शिवकुमार राई पुरस्कार २०२४: नाट्यकर्मी श्रीमती मेनुका प्रधान
- अरूणा लामा पुरस्कार २०२४: दीप वाइबा
- छुजाङ डुक्पा स्मृति पुरस्कार: श्रीमती ल्हमु छिरिङ भोटिया
दार्जीलिङ: जीटीएको सूचना एवम् सांस्कृतिक विभागले प्रत्येक वर्ष साहित्य, संगीत अनि कला क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएका स्रष्टाहरूलाई विभिन्न पुरस्कारहरूद्वारा अलंकृत गर्दै आइरहेछ। यसै सन्दर्भमा २५ दिसम्बर बडा दिन अर्थात् क्रिसमसको अवसर पारेर विभागीय कार्यकारी सभासद अनोस थापा र सह-निदेशक भूपेन्द्रकान्त घिसिङद्वारा यस वर्ष विभागद्वारा साहित्य, संगीत अनि नाट्य विधामा प्रदान गरिइने पुरस्कारहरूको घोषणा गरियो। यस वर्ष साहित्य विधामा गिरी पुरस्कार २०२४ मिरिक निवासी वरिष्ठ कवि-मुक्तककार सी के प्रधान (विचन्द्र)लाई प्रदान गरिनेछ। यसरी नै, नाट्य विधामा शिवकुमार राई पुरस्कार २०२४ वरिष्ठ नाट्यकर्मी दार्जीलिङ निवासी श्रीमती मेनुका प्रधानलाई प्रदान गरिने छ। यस्तै प्रकारले, संगीत विधामा अरूणा लामा पुरस्कार २०२४ वरिष्ठ संगीतकार दार्जीलिङ निवासी दीप वाइबालाई प्रदान गरिइनेछ। संगीत क्षेत्रमा युवा कलाकारहरूलाई प्रोत्साहन प्रदान गर्न यस वर्ष छुजाङ डुक्पा स्मृति पुरस्कार कालेबुङ निवासी उम्दा गायिका श्रीमती ल्हमु छिरिङ भोटियालाई प्रदान गरिनेछ। उक्त सबै पुरस्कारहरू आगामी वर्षको जनवरी महिनामा सिलगढीस्थित दिनबन्धु मञ्चमा आयोजित भव्य कार्यक्रममा प्रदान गरिनेछ। अर्कोतिर, २७ दिसम्बर २०२४ मा लुइस जुबली परिसर दार्जीलिङमा बिहान १० बजे विभागद्वारा आयोजन गरिइने ९७औं गिरी जयन्ती समारोहमा सम्पूर्ण साहित्यानुरागी, गीत-संगीत एवं कला क्षेत्रका व्यक्तिविशेषसहित जनसाधारणलाई विभागीय कार्यकारी सभासद अनोस थापाले यसै विज्ञप्ति मार्फत सादर आमन्त्रण जनाएका छन्।