गान्तोक: राज्य खेल विभागको एनएसएस सेल र भारत सरकारको युवा मामिला एवं खेल मन्त्रालयको संयुक्त तत्वावधानमा आयोजित पॉच दिवसीय प्रथम पूर्वोत्तर एनएसएस उत्सव २०२२ को समापन समारोह आज राजधानीको मनन केन्द्रमा आयोजन गरियो। समापन समारोहमा विधायक सोनाम टी. भेन्चुङपा मुख्य अतिथि र खेल एवं युवा मामिला विभागका सल्लाहकार एमएन सुब्बा विशिष्ट अतिथि थिए। कार्यक्रममा खेल विभागका सचिव कर्मा आर. बोन्पो, निदेशक डोमा टी. भोटिया, स्वास्थ्य विभागका निदेशक डा. पेमा लेप्चा आदि पनि उपस्थित थिए।
मुख्य अतिथि भेन्चुङपाले युवाहरूलाई देशको शक्ति बताउॅंदै यस्ता कार्यक्रमहरूले युवाहरूलाई अझ सशक्त बनाउॅछ भनी बताए। उनले उत्सव अवधि एनएसएस स्वयंसेवकहरूले प्राप्त गरेका अनुभवहरू आफ्नो राज्य फर्किएपछि अरूहरूलाई पनि साझा गर्नेछन् भनी आशा व्यक्त गरे। उनले आफ्नो सम्बोधनमा पॉंच दिवसीय उत्सव समाप्त भएको घोषणा पनि गरेका थिए।
यस अघि सचिव बोन्पोले देशको विकासमा एनएसएस स्वयंसेवकहरूको भूमिकामाथि प्रकाश पारे। उनले पॉंच दिवसीय उत्सवलाई सफल बनाउन सबै राज्यका एनएसएस अधिकारीहरू र स्वयंसेवकहरूको सक्रिय सहभागिताका लागि कृतज्ञता व्यक्त गरे। उनले युवाहरूलाई ड्रगमुक्त समाज निर्माणका लागि सन्देश प्रचार प्रसार गर्न अनि जागरूकता फैलाउने आह्वान गरे।