तीन वर्षको अवधिमा एसकेएम सरकारले गरेको काममाथि चर्चा परिचर्चा

IMG-20220523-WA0168.jpg

गान्तोक। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सोशियल मीडिया तथा प्रचार प्रसार शाखाको एक बैठक आज डीपीएच स्थित जनता भवनमा सम्पन्न भयो। बैठक बस्नुको प्रमुख उद्देश्य आगामी २७ मईको दिन एसकेएम पार्टीले सरकार गठन गरेको तीन वर्ष पुगेको अवसरमा के-कस्ता कार्यक्रम प्रचार शाखाले गर्नुपर्ने भन्ने बारे चर्चा गर्नु रहेको थियो। बैठकलाई पार्टीका प्रवक्ता एवं मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माले अध्यक्षता गरेका थिए भने पार्टीको प्रचार प्रसार शाखा उपाध्यक्ष प्रभारी बिरेन्द्र तामलिङ, शोसल मीडिया शाखा प्रभारी नवराज गुरुङ, प्रचार प्रसार शाखाका प्रमुख समन्वयक तथा मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत, लगायत सबै जिल्लाबाट पार्टीको शोसल मीडियाकर्मीहरूको उपस्थिति रहेको थियो।

पार्टीको प्रचार प्रसार शाखालाई अझ बलियो बनाउँदै सरकारले गरेका उपलब्धीहरूको प्रचार व्यापक रूपमा गर्नुपर्ने प्रमुख समन्वयक विकास बस्नेतले उपस्थित सबैप्रति आग्रह गरे। यसरी नै उपाध्यक्ष प्रभारी बिरेन्द्र तामलिङले सबै निर्वाचन क्षेत्रका शोसल मीडिया कर्मीहरूले राम्रो काम गरिरहेको बताउँदै अब आउने दिनहरूमा पनि सरकारले गरेका सबै कार्यक्रम जनतामा पुऱ्याउने कोशिश गर्नुपर्ने बताए।

शोसियल मीडिया प्रभारी नवराज गुरुङले सरकारको कुनै पनि कामलाई विपक्षी अथवा पार्टी र सरकारलाई मन नपराउनेहरूले आलोचना गरिरहेका हुन्छन् तर शोसल मीडियाकर्मीहरूले सरकारका त्यस्ता विकासीय कार्यहरूलाई सकारात्मक रूपमा जनतालाई बताउनुपर्ने बताए। कुनै पनि तरिकामा आलोचनाको जवाफ दिनुपर्ने गुरुङको भनाइ थियो।

पार्टीका प्रवक्ता सीपी शर्माले आगामी २७ मईको कार्यक्रमबारे अवगत गराए। सरकारले आफ्नो तर्फबाट कार्यक्रम गर्छ तर पार्टीले सबै समष्टिमा कार्यक्रम गर्न सक्ने उनले बताए। पार्टीले विशेष गरेर यसपल्ट एउटा लेख-रचनाहरूको संग्रहीत पुस्तक प्रकाशित गरेको र त्यही दिन विमोचन गर्ने कार्यक्रम रहेको पनि बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement